काठमाडौं । लोक सेवा आयोगले लिएको प्रहरी जवान जनपद पदको लिखित परीक्षामा नक्कली परीक्षार्थी सहभागी भएको फेला परेको छ।
प्रवेश पत्र र नागरिकतामा अर्कैको नाममा फोटो बदलेर नक्कली परीक्षार्थीले परीक्षा दिएको पुष्टि भएको हो।
परीक्षामा अनियमितता गरेको पाइएपछि लोक सेवा आयोगले २१ जनाको परीक्षा नै रद्द गरिदिएको छ।
आयोगले गत फागुन २२ मा जनपदका लागि परीक्षा लिएको थियो।
सूचना नम्बर २८०/०७७/७८ र विज्ञापन नम्बर ०१/०७७/०७८ प्रहरी जवान जनपद पदको लिखित परीक्षामा अनियमितता गर्नेलाई आयोगले कारवाहीका लागि समेत सिफारिस गरेको छ।
परीक्षामा नक्कली परीक्षार्थी सामेल भएको पाइएपछि आयोगको गत चैत ६ मा बसेको बैठक परीक्षा रद्द गरिदिएको हो।
जसअनुसार महेन्द्रनगरको सिद्धनाथ विज्ञान क्याम्पस, बाल जागृति मावि, अमिती कलेज कञ्चनपुर, अमिती कलेज महेन्द्रनगर, महेन्द्रनगर, दिपायल, लिटिल बुद्ध एकेडेमी महेन्द्रनगर, शन्ति निकेतन मावि महेन्द्रनगर, जानकी कन्या मावि महेन्द्रनगर परीक्षा केन्द्रबाट परीक्षा दिएका कूल २१ परीक्षार्थीको परीक्षा रद्द भएको आयोगले जनाएको छ।
परीक्षार्थी र नक्कली परीक्षार्थीलाई पाँच वर्षसम्म आयोगको परीक्षामा सामेल हुन नपाउने गरी निलम्बन गर्ने र थप कारवाहीका लागि नेपाल प्रहरीलाई लेखेर पठाउने निर्णय आयोगले गरेको छ।
बझाङका दीपेन्द्रबहादुर कठायत, केशव द्वाल, कृष्ण खड्का, परशुराम कठायत, हेमन्त कडायत, सुवासबहादुर कठायत, विनोद कठायत, विन्दास ऐडी, सन्तोषकुमार साउद, रमेशकुमार चदांरा, अशोक ओखेडा, अनिल धमेना, सुन्दर चलाउने, रमेश कुँवर, विकास चलाउने, पूर्णप्रसाद जोशी छन्।
यस्तै कैलालीका महेश चौधरी, सागरसिंह बगाल, धमेन गाउँपालिकाका दिपबहादुर ऐडी, अछामका रेवन्त खड्का र दार्चुलाका रोशन विष्टका नाममा नक्कली परीक्षार्थीले परीक्षा दिएको भेटिएको हो।
उनीहरूको नागरिकता र प्रवेश पत्रमा नक्कली परीक्षार्थीको फोटो टाँसेर परीक्षा दिइएको फेला परेपछि परीक्षा नै रद्द गरिएको छ।








































