काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार दिउँसो बस्ने भएको छ।
आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा मुख्यगरी १४ औं महाधिवेशनका तयारी, क्रियाशील सदस्यता वितरण तथा नवीकरणका लागि म्याद थप र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुँदैछ।
कांग्रेसले चैत ३० गतेसम्म क्रियाशील सदस्यताका काम सक्न जिल्ला कार्यसमितिहरूलाई निर्देशन दिएको थियो। तर सिन्धुपाल्चोकलगायत जिल्लाले अझै क्रियाशील वितरण गर्न फारम नपाएको बताएका छन्। यहाँ समायोजनकै काम सकिएको छैन।
कांग्रेसले चैत ३० गतेका लागि केन्द्रीय समिति बैठक राखेको थियो। त्यसबेला वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइको निधनपछि स्थगित केन्द्रीय समिति बैठक आज बस्न लागेको हो।
पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आइतबार दिउँसो २ बजे केन्द्रीय समिति बैठक बस्छ। बैठकमा केन्द्रदेखि प्रदेशसम्मका राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ।
यसबीचमा कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई कांग्रेसले समर्थन गरेको छ।
यस्तै गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध कांग्रेसकै नेतृत्वमा अविश्वास प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता भएको छ। प्रदेश सभा अधिवेशन अन्त्य भएको भन्दै बोलाउन कांग्रेसलगायत प्रतिपक्षी दलहरूले माग गरेका छन्।
लुम्बिनी प्रदेशमा पनि अहिलेको सरकार ढालेर नयाँ सरकार बनाउने गृहकार्यमा कांग्रेस छ। यी समसामयिक विषयबारे पनि आजको केन्द्रीय समिति बैठकमा छलफल हुने कांग्रेसका एक नेताले बताए।









































