काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले ललितकला क्षेत्रको विकासमा कलाकारिता एवं कला लेखनको माध्यमबाट महत्वपूर्ण सहयोग पु¥याउने कलाकार एवं लेखक, पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरेकि छिन ।
राष्ट्रपति भण्डारीले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०७८’ को उद्घाटनका अवसरमा सम्मान तथा पुरस्कार प्रदान गरेकि हुन। राष्ट्रपति भण्डारीले अढाई दशकदेखि पत्रकारितामा सक्रिय गोरखापत्र दैनिकका पत्रकार दीपक श्रेष्ठलाई ‘राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार–२०७८’ प्रदान गरिन। यस्तै, नवीन्द्रमान राजभण्डारीलाई ललितकला लेखन पुरस्कार–२०७८ प्रदान गरिएको छ । दुवै पुरस्कारको राशी जनही २५ हजार रुपियाँ रहेको छ ।

त्यसैगरी, अरनिको प्रज्ञा सम्मान–२०७८ बाट कलाकारद्वय वत्सगोपाल वैद्य र प्रविण कुमार श्रेष्ठ सम्मानित भएका छन । यस्तै, कलाकार अनुप केसी, भाजुरत्न शाक्य, तुलबहादुर पुन, राजकुमार रानामगर, चित्रप्रकाश शाह, हरेराम यादव र प्रकाश पुनमगरलाई ‘राष्ट्रिय ललितकला पुरस्कार–२०७८’ प्रदान गरिएको छ ।
कार्यक्रममा कलाकारहरु मानबहादुर वम, विश्व थापा, ग्युर्मे तेन्जिङ शेष, मनिषलाल श्रेष्ठलगायत सात प्रदेशका सात कलाकारलाई ‘ललितकला प्रादेशिक पुरस्कार–२०७८’ प्रदान गरिएको छ । त्यसैगरी, कलाकार राजेन्द्र देशार, मिना थारु, कृष्णगोपाल गारु, राजु पिठाकोठे, सुन्दर श्रेष्ठ, राजु लामा योन्जन, मन गुरुङ, राजकुमार पन्त र राजेश बरालसहित १७ जना कलाकारलाई ‘ललितकला विशेष पुरस्कार–२०७८’ प्रदान गरिएको छ । राष्ट्रिय कला प्रदर्शनी जेठ २ गतेसम्म जारी रहने जनाइएको छ ।










































