05, Dec, 2024

कोशी माओवादीले भन्यो, ‘मन्त्री नै मानव तस्करीमा मुछिँदा प्रदेशबासीको शिर निहुरियो’

बागमती भ्वाइस
बागमती भ्वाइस
२२ कार्तिक २०८१, बिहीबार १६:०७ | ३ हफ्ता अगाडी

विराटनगर । नेकपा माओवादी केन्द्र संसदीय दल कोशीले निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीको जापान भ्रमण प्रकरणका विषयमा छानबिन गर्न माग गरेको छ ।

माओवादीले सो प्रकरण मानव तस्करी तथा सरकारी कागजात किर्तेलगायतको विषयमा जोडिएको भन्दै गम्भीर छानबिनको निम्ति सरकारको ध्यानाकर्षण गराएको छ ।

माओवादी कोशी प्रदेश संसदीय दलका सचेतक गिता तिमल्सिनाले विज्ञप्ति जारी गर्दै भ्रमणपछि आएको र त्यससँग सम्बन्धित सार्वजनिक भएका विषयप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन् ।

विज्ञप्तिमा कूटनीतिक मर्यादाको उल्लंघन गर्दै प्रदेश सरकारको मन्त्री विदेश भ्रमणमा जानु र मानव तस्करी जस्तो गम्भीर अपराधमा संलग्न हुनुले सिंगो प्रदेशबासीको शिर निहुरिएको उल्लेख छ ।

विज्ञप्तिमा जिम्मेवार मन्त्री सरकारी कार्यक्रमको नाममा सामान्य प्रक्रियासमेत पूरा नगरी विदेश भ्रमणमा जाँदा मुख्यमन्त्री प्रदेश सरकार कसरी बेखबर रहे ? मन्त्रीजस्तो जिम्मेवार पदमा रहेको व्यक्तिसँगै मानव तस्करहरुको गिरोहमार्फत सरकारी कागजात किर्ते गरेका व्यक्तिहरु जापान प्रवेश गर्न खोज्नु गम्भीर विषय रहेको उल्लेख छ ।

तिमल्सिनाले सो घटनाबारे एक सातासम्म प्रदेश सरकार रमिते बन्नु खेदजनक भएको भन्दै राजीनामा गराएर उन्मुक्ति दिने प्रयास गरिएको आशंका बढेको बताएकी छन् ।

२२ कार्तिक २०८१, बिहीबार १६:०७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading