वि.सं.२०८२ जेठ १ बिहीवार

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता सुरू भएको छ।

पार्टीभित्र देखिएको विवादबारे छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका हुन्।

शनिबार दुई अध्यक्षबीचमा मंसिरमा अर्ली महाधिवेशन गर्ने सहमति भएको थियो।

प्रधानमन्त्री ओलीले शनिबारको सचिवालय बैठकमा अर्ली महाधिवेशन मंसिरमा गर्ने प्रस्ताव गरेका थिए। प्रधानमन्त्रीको प्रस्तावलाई प्रचण्डले पनि साथ दिएका थिए।

बैठकमा दुई अध्यक्षको चोचोमोचो नमान्ने भन्दै वरिष्ठ नेता माधवकुमार नेपालले विरोध गरेका थिए। यद्यपी प्रचण्डले वरिष्ठ नेता नेपाल र उनीनिकटका स्थायी समिति सदस्यलाई आइतबार बिहान प्रधानमन्त्री ओलीसँग कुनै सहमति नभएको ब्रिफिङ गरेका थिए।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार साँझ राष्ट्रपति भवन शितल निवास आकस्मिक रूपमा गएको स्पष्टिकरण दिएका छन्।

आइतबार बिहान प्रचण्ड निवासमा भेला भएका बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत १ दर्जन स्थायी समिति सदस्यलाई प्रचण्डले आफू परिबन्दमा परेर शितल निवासमा गएको बताएका हुन्।

‘सचिवालय बैठकलगत्तै मैले प्रधानमन्त्रीजीलाई भेट्न खोजेको थिएँ। त्यही बेला तपाईं राष्ट्रपति कार्यालय जानुपर्‍यो भनेर महासचिवले भन्नुभयो,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक स्थायी समिति सदस्यले भने,’ दुई अध्यक्षलाई बोलाउनुभएको हो। एकजना अध्यक्ष गइसक्नुभयो अब तपाईं पनि जानुपर्‍यो भनेपछि म जादिनँ भन्न पनि मिलेन। म अचानक गएको हो, कुनै योजना थिएन।’