08, Sep, 2024

मेलम्ची सुरूङको ढोकामा नटबोल्ट राम्ररी नकस्सिएको निष्कर्ष

Bagmati Voice
संवाददाता
४ श्रावण २०७७, आईतवार १२:२६ | ४ साल अगाडी

काठमाडौ । मेलम्ची खानेपानी आयोजनाको सुरूङभित्र रहेको ढोका नम्बर १७ एक्कासी खुलेर कसरी पानी बाहिर निस्कियो भन्नेबारे अध्ययन गरिरहेको प्राविधिक समितिले नटबोल्ट कसाइमै समस्या देखिएको प्रारम्भिक निष्कर्ष निकालेको छ।

आयोजनाको अम्बाथानस्थित सुरूङभित्र ढोका नम्बर १७ बाट एक्कासी पानी बाहिर आउँदा निरीक्षण गर्न पुगेका आयोजनाका इन्जिनियरसहित चार जनालाई पानीले बगाएको थियो।

घटनामा परेका इन्जिनियर सतिस गोइतको शव फेला परिसकेको छ भने आयोजनाका चालक राधाकृष्ण थापा अझै बेपत्ता छन्। सुरूङभित्र रहेको हाइलक्स गाडी पनि ढोका नम्बर १७ बाट निस्केको पानीले बगाएर मेलम्ची खोलामा पुर्‍याइदिएको थियो।

पानीमा बगेर घाइते भएका आयोजनाका अर्का इन्जिनियर शेखर खनाल र प्राविधिक पेमा दोर्जे तामाङको हेलिकप्टरबाट उद्धार गरी काठमाडौंको ग्रान्डी अस्पताल ल्याइएको थियो।

घटनालगत्तै खानेपानी मन्त्रालयले सत्यतथ्य बुझ्न सहसचिव रमाकान्त दवाडीको नेतृत्वमा छ सदस्यीय प्राविधिक टिम गठन गरी घटनास्थल पठाएको थियो।

गत बुधबार आयोजनास्थल सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकास्थित अम्बाथान सुरूङ पुगेको प्राविधिक टिमले १७ नम्बर ढोकाको नटबोल्ट राम्रोसँग नकस्सिँदा त्यहाँबाट पानी बाहिर निस्केको प्रारम्भिक निष्कर्ष निकालेको हो।

घटनास्थल पुगेर अध्ययन गरिरहेका प्राविधिक टिमका संयोजकसमेत रहेका सहसचिव दवाडीले नटबोल्टमा समस्या देखिएको बताए।

‘१७ नम्बर गेटको ढोकामा समस्या देखिएन। पहिलेजस्तै छ,’ उनले भने, ‘ढोकाको नट बल्टु राम्रोसँग नकस्सिँदा पानी बाहिर निस्केको हुनुपर्छ।’ यद्यपी अध्ययन नसकिएको उनले बताए।

‘अझै अध्ययन गरेर हामी तीनरचार दिनपछि मन्त्रालयलाई विस्तृत प्रतिवेदन दिन्छौं,’ उनले भने, ‘नटबोल्ट जति कस्सिनु पर्ने हो त्यति कसिलो भएन। खुकुलो हुँदा ढोकाबाट पानी आएको हुन सक्ने हाम्रो बुझाइ छ।’

उनकाअनुसार प्राविधिक टोलीले ढोका नम्बर १७ पुगेर त्यहाँको अवस्थाबारे बुझेको हो। पानीको चापले गर्दा गेटको नटबोल्ट खुकुलो भएको र त्यहाँबाट पानी बाहिर निस्कँदा घटना घटेको हुनसक्ने अनुमान छ।

‘गेट भत्किएको छैन,’ उनले भने। गेटलाई टेवा दिने पिल्लरमा पनि क्षति नपुगेको उनले जानकारी दिए। पानीको चाप थेग्न नसक्दा ढोका नम्बर १७ को नटबोल्ट ‘लुज’ भएको र त्यहाँबाट पानी बाहिर निस्केको उनले बताए।

आयोजनाका प्रमुख त्रिरेशप्रसाद खत्रीले पनि नटबोल्ट खुकुलो हुँदा पानी बाहिर निस्केको बताए।

‘ढोकाकै नटबोल्ट राम्रोसँग फिट नभएकोजस्तो देखिएको छ,’ उनले भने, ‘यसबारे विस्तृत अध्ययन प्राविधिक टिमबाट हुन्छ। एक सातामा प्रतिवेदन आउला।’

यो सुरूङमार्गको काम चिनियाँ सिनो हाइड्रो कम्पनी र गेटलगायत निर्माण कार्य भारतको प्रिसिजन इनफाट्रिक कम्पनीले गरेको हो। सुरूङमा पानी परीक्षणका क्रममा दुर्घटना भएपछि सुरूङको निर्माण र त्यहाँ प्रयोग गरिएका सिमेन्टलगायत सामग्री गुणस्तरबारे पनि प्रश्न उठेका छन्।

गेट र सुरूङ निर्माणमा कतै समस्या छन् कि भन्नेबारे पनि मन्त्रालयबाट खटिएको समितिले अध्ययन गर्नेछ। आयोजनाको मुहान (इन्टेक) बाट गत असार २१ गते करिब आठ सय मिटरसम्म सुरूङमा पानी हालेर सफल परीक्षण गरिएको थियो।

अम्बाथानबाट सुन्दरीजलतर्फ पानी परीक्षणका कार्य भइरहेका बेला गत मंगलबार सुरूङको १७ नम्बर ढोकाबाट तीव्र बेगले पानी आउँदा चार जनालाई बगाएको थियो। पानीको चाप नाप्न उनीहरू सुरूङभित्र पुगेका बेला बगाएको थियो।
सुरूङको यो ढोकामा १७ मिटर लेबल बराबरको चाप हुने आयोजनाले जनाएको छ।

मुहानदेखि सुन्दरीजलसम्म करिब २७ किलोमिटर सुरूङमा चार ठाउँमा मुख्य सुरूङ हेर्न जानका लागि वैकल्पिक सुरूङ छन्।

गामथुम, सिन्धु, सुन्दरीजल र अम्बाथाममा गरी चार वटा सुरूङ छ, जहाँबाट मुख्य सुरूङको अवस्था हेर्न मिल्छ।

मुहानबाट सुरूङमा प्रतिसेकेन्ड छ हजार लिटर पानी पठाउन सकिने भए पनि परीक्षणका क्रममा दुर्घटना नहोस् भनेर पाँच प्रतिशत पानी मात्रै पठाइएको थियो।

थौरै पानी पठाउँदासमेत १७ नम्बर ढोकाको नटबोल्ट खुकुलो हुने गरी पानीको चाप बढ्दा दुर्घटना भएको हो। आयोजनाको सुरूङमा पानी परीक्षण गर्न कम्तिमा २० दिन सुरूङभित्र मेलम्चीको पानी छाड्नुपर्ने हुन्छ

४ श्रावण २०७७, आईतवार १२:२६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading