काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले निकट भविष्यमा नेपालमा महिला प्रधानमन्त्री चयन हुने आशा व्यक्त गरेका छन।
राजधानीमा आयोजित तीज तथा सौन्दर्य सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालले महिला राष्ट्रपति, सभामुख, न्यायाधीश, र मुख्य सचिव पाइसकेकाले अब महिला प्रधानमन्त्री बन्ने मात्र बाँकी रहेको बताए ।
मन्त्री यादवले भने, “महिलाहरूले उच्चतम पदहरू हासिल गरिसकेका छन्, अब प्रधानमन्त्री पदमा महिला नेतृत्वको अपेक्षा गरिएको छ । निकट भविष्यमै देशले महिला प्रधानमन्त्री पाउनेमा म विश्वस्त छु ।”
कार्यक्रममा मन्तव्य राख्दै मन्त्री यादवले नेपालको संविधानले महिलाका लागि विशेष अधिकार सुनिश्चित गरेको बताउँदै, वर्तमान सरकार पनि महिलाका हकहितमा प्रतिबद्ध रहेको उल्लेख गरे। महिलाका लागि ३३ प्रतिशत आरक्षण सरकारी निकायहरूमा अनिवार्य हुनुपर्ने धारणा व्यक्त गर्दै, उनले अब पुरुषहरूले पनि घरको काममा योगदान दिनुपर्ने आवश्यकतामा जोड दिए ।
तीज पर्वको सन्दर्भमा मन्त्री यादवले यस पर्वले महिला दिदीबहिनीहरूलाई दुःखसुख साटासाट गर्ने अवसर दिने र मिलनको पर्वको रूपमा महत्त्व राख्ने बताए । उनले भने, “पहाडमा मनाइने तीज अहिले मधेसका गल्ली(गल्लीमा पनि उल्लासपूर्वक मनाइन्छ, यो पर्व हाम्रो सांस्कृतिक धरोहरको संरक्षण र प्रवर्द्धनको प्रतीक हो ।”
अर्को प्रसङ्गमा, मन्त्री यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा काठमाडौँवासीलाई २४ घण्टा खानेपानी उपलब्ध गराउन, ललितपुरमा मेलम्चीको पानी पुर्याउन र गोदावरीको पानी खुवाउन आवश्यक तयारी भइरहेको जानकारी दिए ।
मन्त्री यादवले आफूसँग सम्बन्धित कुनै समस्या वा सुझाव भए आफूलाई सिधा सम्पर्क गर्न आग्रह गर्दै कार्यक्रम समापन गरेका थिए ।









































