08, Oct, 2024

राष्ट्रपति संविधानको रक्षक हुनुपर्नेमा भक्षक भए, यसका विरुद्ध सर्वोच्च अदालत जान्छौँ : कानूनविद्

बागमती भ्वाइस
बागमती भ्वाइस
३० असार २०८१, आईतवार १६:२३ | २ महिना अगाडी

काठमाडौं । कानूनविद्हरुले राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई असंवैधानिक तरिकाले प्रधानमन्त्री नियुक्त गर्न खोजको आरोप लगाएका छन् । संवाद चौतारीमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी कानूनविद्हरुले यस्तो बताएका हुन् ।

पूर्वमहान्याधिवक्ता तथा वरिष्ठ अधिवक्ता मुक्ति प्रधानले राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीको लागि आह्वान गरेर असंवैधानिक कदम उठाएको बताए ।

उनले भने, ‘संविधानका धारा ७६ को उपधार २ अनुसार नियुक्त भएका प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि स्वतः ७६ को उपधारा ३ मा जानुपर्ने थियो । तर, राष्ट्रपतिले असंवैधानिक कदम उठाएर प्रधानमन्त्रीको लागि दाबी पेश गर्न आह्वान गर्नुभएको छ । यसले राष्ट्रपतिको संविधानको रक्षकको भूमिका रहन सक्नुभएन ।’

राष्ट्रपतिको यो कदम विरुद्ध अदालतमा जाने वरिष्ठ अधिवक्ता प्रधानले बताए ।

प्रधानले नेपाली कांग्रेस र एमालेले मध्यरात गरेको सम्झौता प्रतिगामी भएको बताउँदै जनस्तरबाट प्रतिवाद हुने भएपछि सार्वजनिक गर्न नसकेको समेत बताए ।

उनले संविधान संशोधनको नाममा काँग्रेस र एमालेले पुरानै संविधान ब्यँताउन खोजेको दाबी गर्दै भने, ‘संविधान संशोधनको नाममा दुई पार्टीका नेताले नाडी छाम्ने काम गरेका छन् । यसको प्रतिवाद जनताले गर्नेछन् । संसदको सबैभन्दा ठूलो र दोस्रो ठूलो पार्टी मिलेर उद्देश्यहीन र गन्तव्यहीन यात्रा सुरु गरेका छन् ।’
प्रधानले राष्ट्रपतिको असंवैधानिक कदमको प्रतिवाद गर्न अपिल समेत गरे । त्यसै गरी स्वतन्त्र कानुन व्यवसायी मञ्चका अध्यक्ष तथा अधिवक्ता यज्ञमणि न्यौपानेले राष्ट्रपतिले संविधान धारा ७६ को उपधार २ अनुसार प्रधानमन्त्रीको लागि दाबी पेश गर्न आह्वान गरेर संविधान च्यात्ने काम गरेको बताए । उनले राष्ट्रपति संविधानको रक्षक हुनुपर्नेमा भक्षक भएको बताए ।

उनले भने, ‘संविधानको अपव्याख्या गरेर राष्ट्रपतिले गैर संवैधानिक रूपमा प्रधानमन्त्री नियुक्ति गर्न लाग्नुभएको छ । यो संविधानमाथिको घात हो, संविधानको बलात्कार हो, यो विषय अदालत जान्छ ।’ उनले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भ्रष्टाचार र बेथितिका फाइल खोल्न थालेपछि मध्यरातमा नेपाली कांग्रेस र नेकपा एमाले मिलेको बताए ।

यस अघि पनि पटक–पटक संविधानविरुद्ध गएको बताउँदै अहिले काँग्रेस ओलीको फेरो समाउँदै सती जान लागेको अधिवक्ता न्यौपानेले बताए । उनले कांग्रेस र एमालेले संविधान संशोधनको नाममा संविधान समाप्त पार्ने खेल खेलेको बताउँदै लोकतन्त्र पनि खतरामा परेको बताए ।

राष्ट्रपतिको असंवैधानिक कदमविरुद्ध कानुन व्यवसायी अदालत गइसकेको बताउँदै न्यौपानेले भने, ‘संविधानमाथि फेरि घात भएको छ । असंवैधानिक रूपमा राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति गर्दै हुनुहुन्छ । यसका विरुद्ध कानुन व्यवसायी अदालत गइसकेका छन् ।’

उनले संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्ति गर्नु सही भन्नेहरू संविधान नपढेको समेत बताए ।

नक्कली भुटानी भुटानी शरणार्थी बनाउन, गिरीबन्धु, बाल मन्दिर, ललिता निवासको जग्गा कब्जा गर्न, खोल्न लागेका फाइल बन्द गर्न काँग्रेस र एमाले मिलेको समेत अधिवक्ता न्यौपानेले दाबी गरे ।

३० असार २०८१, आईतवार १६:२३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading