16, Jul, 2024

हवाई सुरक्षामा उच्च जोखिम देखिएको भन्दै नलिनचोकबाट उडान नगर्ने पाइलटहरूको निर्णय

बागमती भ्वाइस
बागमती भ्वाइस
२७ असार २०८१, बिहीबार १०:०९ | ५ दिन अगाडी

काठमाडौ । काठमाडौ हेलिकप्टर पाइलटहरूले नलिनचोकको हेलिपोर्टबाट कुनै पनि उडान नगर्ने बताएका छन्। हवाइ सुरक्षामा उच्च जोखिम देखिएको भन्दै पाइलटहरूले आज (बिहीबार) देखि कुनै पनि उडान नगर्ने निर्णय गरेका हुन्।

हेलिपोर्टमा हुनुपर्ने अत्यावश्यक सेवा र सुविधा, उडान र अवतरणमा भएको समस्या लगायतका विषयमा गत साता पाइलटहरूले नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाएका थिए। त्यसपछि एक चरणमा प्राधिकरणसँग बसेर छलफल भएपनि निष्कर्षमा पुग्न नसकेको एक वरिष्ठ पाइलटले बताए।

‘नलिनचोकबाट उडान गर्न सक्दैनौं भनेर गत साता हामीले प्राधिकरणलाई गुहारेका थियौं,’ ती पाइलटले भने, ‘प्राधिकरण यसमा गम्भीर देखिएन। त्यसैले आजबाट हामीले कुनै पनि उडान नगर्ने घोषणा गरेका छौं।’

उनका अनुसार अहिले नलिनचोक हेलिपोर्टमै सबै हेलिकप्टरहरू ग्राउन्डेड छन्।

भक्तपुरस्थित नलिनचोकमा रहेको यो हेलिपोर्ट दुई साताअघि सञ्चालनमा ल्याइएको हो। असार ७ गते संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले हेलिपोर्ट उद्घाटन गरेका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्राफिकलाई मध्यनजर गर्दै प्राधिकरणले हेलिकप्टरहरू व्यवस्थापन गर्न नलिनचोकमा पुर्‍याएको हो। प्राधिकरणले साढे ११ करोड रूपैयाँ लगानीमा उक्त हेलिपोर्ट बनाएको हो।

तर नलिनचोकबाट उडान र अवतरण गर्दा सुरक्षामा उच्च जोखिम रहेको पाइलटहरूले गुनासो गर्दै आएका थिए। आवश्यक तयारीबिनै हेलिकप्टरहरू लगिएको र उडान सुरक्षामा पनि ध्यान नपुर्‍याएको भन्दै पाइलटहरूले उडान गर्दाका जोखिम र समस्या सहितको पत्र पठाएको थियो।

यो हेलिपोर्ट वरिपरी उच्च भू-भागसहित अवरोधहरू रहेको र यसरी नै हेलिकप्टर उडाउने हो भने भविष्यमा दुर्घटना जोखिम रहेको ती पाइलटले बताए। उनका अनुसार हेलिपोर्टमा उडान/अवतरण, अत्यावश्यक सेवा र इन्धनको सहजता छैन।

‘हेलिपोर्टमा कन्ट्रोल टावर छैन। उडान गर्न तोकिएको ठाउँ साँघुरो छ,’ ती पाइलटले भने, ‘पार्किङ क्षेत्र पनि निकै सानो छ। इन्धन भर्ने सुविधा पनि छैन।’

आपतकालीन सेवाको अभाव र साँघुरो क्षेत्रमा भएकाले नलिनचोक हेलिपोर्ट तत्काल उडानयोग्य नभएको उनले बताए।

पाइलटहरूले प्राधिकरणलाई बुझाएको पत्रमा सातवटा समस्या उल्लेख छन्।

पत्रमा उल्लेख भएअनुसार हेलिपोर्ट वरिपरि उच्च भूभागसहितको अवरोध छ। यहाँ उत्तर दक्षिणमा ट्रान्समिसन लाइन लगिएको छ। अवतरण गर्ने दिशातर्फ वरिपरि ठूला रूख छन्, टेलिकम टावर छ। हेलिकप्टर उडान गर्ने क्षेत्रतर्फ आवासीय भवनहरू निकै नजिक पर्छन्। हुरी, तापक्रम वा हेलिकप्टरको भारको कारण असन्तुलन भएमा भवनहरूमा यसले क्षति गर्न सक्ने सम्भावना उच्च छ।

हेलिकप्टर अवतरणका लागि नजिकै खुला क्षेत्र छैन। हेलिपोर्ट खाली भएको अवस्थामा मात्र ठाडो (भर्टिकल) उडान गर्न सकिन्छ। हेलिपोर्ट साँघुरो भएकाले सिधै अवतरण गर्न मुस्किल छ।

सानो क्षेत्र भएको र धेरै हेलिकप्टर पार्किङमा रहने भएकाले आकस्मिक अवतरणमा समस्या हुने देखिन्छ। अवतरणको समयमा मोड्न समेत समस्या हुन्छ।

कन्ट्रोल टावर नभएकाले पाइलटले नै ‘टेक लग’ भर्नुपर्ने समस्या पनि छ। यसका लागि कम्तीमा १५ देखि २० मिनेट लाग्छ। तोकिएको क्षेत्रमा हेलिकप्टर अवतरण गर्दा र उडानअघिको सामान्य परीक्षणमा थप समय लाग्छ।

हेलिकप्टर पार्किङ क्षेत्र सानो छ। त्यस्तै इन्धन भर्ने सुविधा नहुँदा हेलिपोर्ट सञ्चालनको दुई साता भइसक्दा पनि जर्किनबाटै इन्धन लगेर भर्नुपर्ने बाध्यता रहेको पत्रमा उल्लेख छ।

‘कुनै पनि विमानस्थलका लागि अत्यावश्यक मानिने अग्नि नियन्त्रण कक्ष, स्वास्थ्य सेवा समेत छैन। आकस्मिक सेवा पाउन कठिन छ,’ पत्रमा भनिएको थियो।

यस विषयमा प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले हेलिपोर्ट भर्खरै सञ्चालनमा आएकाले कतिपय संरचनाहरू बन्नै बाँकी रहेको बताए।

‘तत्कालका लागि हेलिकप्टरलाई त्रिभुवन विमानस्थलबाट नलिनचोक सारिएको हो,’ उनले भने, ‘यसलाई हामीले हेलिपोर्टभन्दा पनि अहिलेका लागि हेलिप्याडका रूपमा लिएका छौं। हेलिपोर्टका लागि आवश्यक सेवा, सुविधा र संरचना बन्ने प्रकियामा छ।’

नलिनचोक हेलिपोर्टमा गत मंसिरमा प्राधिकरणले परीक्षण उडान (प्रुभिङ फ्लाइट) पनि गरेको थियो। उक्त उडानको रिपोर्टले पनि वरपरका डाँडा र अग्ला भवनले अवरोध पुर्‍याउने देखाएको भुलले बताए। तर यो सबै हटाउन कठिन रहेको उनी बताउँछन्।

‘सुरूमा काठमाडौं विमानस्थलबाटै व्यवस्थापन गर्ने र बिस्तारै नलिनचोकमा एयर ट्राफिक कन्ट्रोलको युनिट राखेर चलाउन सकिन्छ भनेर छलफल भएको थियो,’ उनले भने, ‘त्यति बेला प्राधिकरण र सम्बन्धित हेलिकप्टर कम्पनीसँगको निर्णय बमोजिम हेलिपोर्ट सञ्चालनमा ल्याइएको हो।’

हेलिकप्टर पाइलटहरूले उक्त हेलिपोर्टको जोखिम न्यूनीकरणका लागि पठाएको पत्रबारे छलफल भइरहेको उनी बताउँछन्।

‘जे कुरा अल्पकालीन गर्न सकिन्छ, त्यो हुन्छ। प्राधिकरणले एक्लै गर्न नसक्ने विषयमा सम्बन्धित निकायसँग मिलेर गर्नेछ,’ सूचना अधिकारी भुलले भने, ‘पाइलटले भनेका कुरामा प्राधिकरण गम्भीर छ। उडान सुरक्षाका लागि के के गर्न सकिन्छ, त्यो प्राधिकरणले गर्नेछ।’

२७ असार २०८१, बिहीबार १०:०९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading