वि.सं.२०८३ वैशाख २१ सोमवार

प्रजनन अंगमा मृत्यु बोकेर कहिलेसम्म हिँड्ने ? सांसद चन्दको प्रश्न

khanepani

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) की सांसद रेणु चन्दले छाउपडी गोठमा बसिरहेको किशोरीमाथि भएको बलात्कारबारे उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग जवाफ माग गरेकी छन् । 

राष्ट्रिय सभाको आइतबारको सांसद चन्दले महिलाहरूले आफ्नो जीवनको अवधिमा करिब ३० वर्षसम्म महिनावारी हुने उल्लेख गर्दै महिलाको जीवनको सक्रिय समयमा हुने आक्रमणबारे सरकार गम्भीर बन्नुपर्ने बताइन् । उनले प्रजनन अंगमा मृत्यु बोकेर कहिलेसम्म हिँड्ने ? भन्दै प्रश्नसमेत गरिन् ।

‘छाउपडी गोठमा बसिरहेको किशोरीमाथि आक्रमण भएको छ । महिलाहरूले आफ्नो जीवनको अवधिमा करिब करिब ३० वर्षसम्म महिनावारी हुन्छौँ । यो हाम्रो जीवनको सबैभन्दा सक्रियकाल पनि हो । यसमा बच्चाबच्ची जन्माउँछौँ । करियर अघि बढाउँछौँ । औसत आयु जो नेपाली महिलाको छ, त्यसको लगभग आधा अवधि हुन जान्छ । यो हाम्रो समाजमा प्रचलित सामाजिक प्रथा हो,’ सांसद चन्दले भनिन्, ‘प्रजनन अंगमा काल बोकेर, मृत्यु बोकेर कहिलेसम्म हामीले हिँड्ने हो ? हामी महिला आफ्नो शरीरमा मृत्यु बोकेर हिँड्ने ? यसको जवाफ कसले दिने हो ?’

कति पटक छाउपडी गोठको कुरा उठाउनु हुन्छ भन्ने प्रश्न उठ्ने गरेको बताउँदै सांसद चन्दले भनिन्, ‘जबसम्म निर्मुल हुँदैन तबसम्म कुरा उठाउँछौँ । थाक्नेवाला छैनौँ । गृहमन्त्रीज्युले यहाँ आएर जवाफ दिनुपर्छ । यो धेरै संवेदनशील कुरा छ ।’

सांसद चन्दले छाउपडीविरुद्ध बनेका ऐन, कानुन कार्यान्वयन हुन नसकेको भन्दै आपत्ति जनाइन् ।

ranechhap