पर्सा । पर्सा प्रहरीले भारतबाट अवैध ढङ्गले भित्र्याएको दश लाख रुपौयँ मूल्य पर्ने सात सय १२ बोरा युरिया मल बरामद गरेको छ । गैरकानुनी रूपमा भारतीय मल भन्सार छली चोरीपैठारी गरी वीरगञ्जमा ल्याई अनाधिकृत भण्डारण गरेर राखेको ५० किलोग्रामका सात सय १२ बोरा मल बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले भारतबाट भन्सार छली गरेर अवैध ढङ्गले मल भित्र्याएर भण्डारण गरिराखेको सूचनाका आधारमा छापा मर्दा मल बरामद भएको बताउनुभयो । प्रहरीले पूर्वी नवलपरासीको कावासोती नगरपालिका–९ बस्ने ६२ वर्षीय ज्ञानबहादुर महतोलाई पक्राउ गरेर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ ।
यस्तै पर्सा प्रहरीले जङ्गली हात्तीको दारासहित तीन जनालाई पक्राउ गरेकाे छ । प्रहरीले पर्साको ठोरी गाउँपालिका–४ गोरखपुर टोलमा समान २१ किलोग्राम तौल भएका दुई वटा हात्तीको दारासहित तीन जनालाई हिजो पक्राउ गरेको हो । पक्राउ पर्नेमा पर्साको ठोरी गाउँपालिका–४ विजयबस्ती गुम्बालाइनका कुइसँग लामा, वीरगञ्ज महानगरपालिका–१ का प्रेम शर्मा र अमिरीलाल महतो रहेका छन् ।









































