वि.सं.२०८३ वैशाख २१ सोमवार

ठूला शहरमा केन्द्रित जनसङ्ख्याको चाप घटाउन थाल्नुपर्छ भन्छन् मेयर शाह

khanepani

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह ब्राजिलमा भएको मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिएर आज स्वदेश फर्कनुभएको छ । बैठकमा भाग लिन उहाँ असार ३ गते ब्राजिलको साओ पाउलो प्रस्थान गर्नुभएको थियो ।

स्वदेश फर्किएपछि बैठकमा भएका छलफल र नीति बहसका विषयमा संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले ठूला शहर केन्द्रित बसाइँसराइको क्रमले भविष्यमा बढ्ने चाप व्यवस्थापन गर्न अहिलेदेखि नै नीति र संयन्त्र बनाउनु पर्ने बताउनुभयो । भौगोलिक, सामाजिक, आर्थिक जस्ता कारणले फरक–फरक ठाउँका सहरको समस्या फरक हुन सक्ने तर केही साझा कार्यक्रमका बारेमा छलफल भएको उहाँको भनाई छ ।

निर्देशक समितिका बैठक साओ पाउलोमा असार ५ र ६ गते भएको थियो । बैठकसँगै मेयर शाहले ‘मेयरल राउण्ड टेवल’ कार्यक्रमअन्तर्गत आवास र भूमि तथा महानगर कल्याण र जीवनस्तर सुधारसँग सम्बन्धित ‘मेट्रोपोलिस नीति बहस’ मा भाग लिनुभएको थियो । उहाँले ठूला शहरमा भएका स्वास्थ्य, शिक्षा, रोजगारीका अवसर र शहर जीवनयापनका सुविधा नजिक रहेका शहरमा पुर्‍याएर, ठूला सहरमा केन्द्रीकृत हुँदै गएको जनसङ्ख्याको चाप घटाउन थाल्नुपर्ने बताउनुभएको थियो ।

बहसमा ठूला महानगरपालिकाका मेयर सहभागी थिए । मेयर बालेन्द्र शाह मेट्रोपोलिस निर्देशक बोर्डको सदस्य हुनुहुन्छ । मेट्रोपोलिस विश्वका ठूला एक सय ५० भन्दा धेरै महानगरको आबद्धता रहेको, आपसी र विश्वव्यापी सहयोग, संवाद, ज्ञान तथा समाधान आदानप्रदान गर्ने, सामूहिक आवाज बुलन्द गर्ने अन्तरर्राष्ट्रिय संस्था हो ।

ranechhap