रुपन्देही । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक र सशस्त्र प्रहरी उपरीक्षकको एकसाथ सरुवा गरिएको छ।
गृह मन्त्रालयले सोमबार अकस्मात प्रजिअ पिताम्बर घिमिरेको सरुवा गरेको छ।
सिडिओको सरुवालगत्तै प्रहरी मुख्यालय र सशस्त्र प्रहरी मुख्यालयले पनि प्रहरी उपरीक्षक प्रवीण पोखरेल र सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँलाई जिम्मेवारीबाट हटाएको छ।
मन्त्रालयले पर्साका सिडिओ अस्मान तामाङलाई रुपन्देही पठाएको छ।
प्रहरी उपरीक्षक पोखरेलको ठाउँमा मुख्यालयबाट मनोज केसी पठाइएका छन् भने सशस्त्र प्रहरीले राजेश उप्रेतीलाई पठाएको छ।
गृहका प्रशासन विभागले प्रमुख जिल्ला अधिकारी साटफेर भएको पुष्टि गर्यो।
यसैगरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी मुख्यालयले पनि एसपी परिवर्तन गरिएको पुष्टि गरेको छ।
गत फागुन २१ गते बुटवलको रानीगन्जमा मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास गर्न पुगेका अर्थमन्त्री विष्णु पौडेल र उद्योग मन्त्री लेखराज भट्टलाई स्थानीयले लेखेटेको घटनामा पूर्वजानकारी राख्न नसकेको र सुरक्षा दिन नसकेको भन्दै सिडिओ र एसपीको सरुवा गरिएको स्रोतले जनायो।
रुपन्देही सुरक्षाका हिसाबले चुनौतीपूर्ण जिल्लाको रूपमा चिनिन्छ। प्रमुख जिल्ला अधिकारी घिमिरे र एसपी पोखरेल त्यहाँ गएको आठ महिनामात्रै भएको थियो। पोखरेल अपराध अनुसन्धानमा अब्बल प्रहरी अधिकृत मानिन्छन्।
साधारतण प्रजिअ र एसपीको कार्यकाल एक वर्ष पुगेकोलाई स्वाभाविक सरुवा मानिन्छ।









































