वि.सं.२०८१ माघ ५ शनिवार

प्रधानमन्त्रीले सभामुखसँग भने, ‘सदनको गतिरोध अन्त्यबारे साँझसम्म निष्कर्षमा पुगिन्छ’

काठमाडौ । काठमाडौ सभामुख देवराज घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच टेलिफोनमा कुराकानी भएको छ।

सभामुख घिमिरेले सोमबार बिहान प्रधानमन्त्री दाहालसँग टेलिफोनमा कुराकानी गर्दै सरकारको नीति तथा कार्यक्रमलगायत विषयमा छलफल गरेका छन्।

साथै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उठाउँदै आएको संसदीय छानबिन समितिलगायतका विषयमा पनि उनीहरूबीच कुराकानी भएको थियो।

सरकारले मंगलबार अपराह्न बस्ने संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम बाचन गर्नेछन्।

सभामुखको सचिवालयले दिएको जानकारीअनुसार सभामुख र प्रधानमन्त्रीबीच सरकारको नीति तथा कार्यक्रम सम्बन्धमा छलफल भएको छ।

साथै उनीहरूबीच राजनीतिक सहमतिका लागि प्रधानमन्त्रीबाट भएका प्रयास र संसदको तयारीबारे छलफल भएको थियो।

प्रधानमन्त्री दाहालले राजनीतिक सहमतिका लागि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत दलसँग छलफल भएको पनि बताएका थिए। प्रधानमन्त्री दाहालले आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरूसँग बालुवाटारमा छलफल गरेका थिए।

प्रधानमन्त्री दाहालले सत्ताघटक दलहरूसँग पनि कांग्रेसका मागबारे छलफल गरिने सभामुखलाई जानकारी गराएका छन्। सोमबार साँझसम्म निष्कर्षमा पुगिने प्रधानमन्त्री दाहालको भनाइ थियो।

प्रधानमन्त्री दाहालले आइतबार नै राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि आफूले भेटवार्ता गरेको सभामुखलाई जानकारी गराएका थिए।

सभामुखले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकसँग आइतबार छलफल गरेका थिए।

नीति तथा कार्यक्रम र बजेटलाई राजनीतिक दाउपेचभन्दा टाढै राख्न सभामुखले आग्रह गरेका छन्।

नीति तथा कार्यक्रम संसद भन्दा बाहिरबाट ल्याउने परिकल्पना र अभ्यास नभएको उल्लेख गर्दै राजनीतिक सहमतिमा उनले जोड दिए।