काठमाडौ । काठमाडौ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था र त्यसमा देखिएका समस्याको समाधानबारे यातायात व्यवस्था विभागका अधिकारीहरूसँग छलफल गरेका छन्।
आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार विभागका अधिकारीहरूलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले छलफल गरेका हुन्।
छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले नक्कली सवारी चालक अनुमतिपत्रबारे चासो राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
‘नक्कली लाइसेन्स वितरणको कुरा सुनेको छु। यसलाई गम्भीरतापूर्वक पनि लिएको छु। यो के हो, यथाशिघ्र हल गर्नुस्,’ कर्मचारीहरूलाई प्रधानमन्त्री प्रचण्डले निर्देशन दिए।
छलफलमा प्रधानमन्त्रीले लाइसेन्सका सम्बन्धमा जनस्तरमा असन्तुष्टि र आक्रोश देखिएको बताउँदै त्यसलाई तत्काल सम्बोधन गर्न पनि निर्देशन दिए।
‘सवारी चालक अनुमतिपत्रबारे बाहिर गम्भीर प्रश्नहरू उठेका छन्। यसमा जनताको गम्भीर आलोचना, असन्तुष्टि, आक्रोश देखिन्छ। खासगरी युवाहरूले समयमै सेवा नपाएको लगायतका गुनासो राख्ने गरेका छन्। लाइसेन्स जसरी वितरण हुनुपर्थ्यो, त्यस्तो नभएको भन्ने छ,’ प्रधानमन्त्री प्रचण्डले भने।
छलफलमा उनले लाइसेन्सको डिजिटल प्रणालीलाई व्यवस्थित गर्न समेत निर्देशन दिए।
‘यो नीतिगत समस्या हो कि संरचनागत हो वा हाम्रो नियतमा समस्या हो ? यसको गम्भीरता हेरी सोहीअनुरूप निरूपण गर्नुपर्छ। तसर्थ, जनस्तरमा उठेका जिज्ञासा र प्रश्नको गम्भीरतापूर्वक समाधान गर्नुस्। भइरहेको प्रणालीलाई अद्यावधिक र स्तरोन्नति गर्दै नयाँ प्रणालीमा अगाडि जाने तयारी गर्नुस्,’ प्रधानमन्त्री प्रचण्डले भने।
सो क्रममा प्रधानमन्त्रीले यो नीति तथा कार्यक्रम र बजेटको समय भएकाले कस्तो नीति र उपायहरू अपनाउँदा यस क्षेत्रको समस्या समाधान हुन्छ, सोबारे ठोस सुझाव प्रस्तुत गर्नसमेत निर्देशन दिए।
छलफलमा मुख्यसचिव बैकुण्ठ अर्याल, यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजाललगायतका अधिकारीको उपस्थिति थियो।
विभागका महानिर्देशक रिजालले हाल विभागले लाइसेन्स छपाइका लागि प्रयोग गरिरहेको प्रणाली मै समस्या भएको बताउँदै प्राविधिक टोलीले यस विषयमा समन्वयन गर्नुपर्ने देखिएको बताए।
प्रधानमन्त्रीले भने भइरहेको प्रणालीलाई नै अद्यावधिक र स्तरोन्नति गर्दै नयाँ प्रणालीमा अगाडि जाने तयारी गर्न निर्देशन दिएका छन्।
त्यस्तै, महानिर्देशक रिजालले हाल लाइसेन्स छपाइको काम विभागबाट मात्रै हुँदा पनि समस्या भएको बताए। सेवा विस्तार गर्न सकिए समस्या समाधान गर्न सहज हुने बताए।
‘छलफलमा प्रधानमन्त्रीज्यूले नक्कली लाइसेन्सको समस्यासँगै समग्र लाइसेन्स सम्बन्धी चासो देखाउनुभयो। सम्बन्धित शाखाहरूसँग समन्वय गरी समस्याको समाधान गर्न बताउनु भएको छ। समस्याको समाधान गर्न हामी सक्रिय छौं,’ छलफलपछि महानिर्देशक रिजालले भने।