काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्ना चार पाइलटसहित १४ जना कोरोना संक्रमित उडान कर्मचारीलाई ह्याम्स अस्पतालबाट सोल्टी होटलको आइसोलेसनमा सारेको छ।
निगमले अस्पतालमा उपचार खर्च महंगो भन्दै सबै संक्रमितलाई सोल्टी होटलको आइसोलेसनमा सारेको जनाएको छ।
ुदैनिक एकजनाकै ३१ हजार उपचार खर्च उठेको छ। हामी सरकारी संस्थाले त्यो धान्न सक्दैनौं। त्यसैले उहाँहरूलाई अस्पतालबाट सोल्टी होटलको आइसोलेसनमा सारिएको छ,ु निगम स्रोतले भन्यो।
निगमले आफ्ना पाइलटसहित सबै कर्मचारीलाई सोल्टी होटलमा राख्दै आएको छ। त्यहीँ क्रममा चार जना पाइलटसहित १४ जना उडान कर्मचारीलाई संक्रमण पुष्टि भएको थियो।
सुरूमा नौं जनालाई संक्रमण देखिएपछि उपचारको लागि सरकारले तोकेको बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा भर्ना गरियो। तर संक्रमितले अस्पतालको व्यवस्थापन राम्रो नभएको भन्दै चित्त नबुझाएपछि निगमले उनीहरूसहित पछि थपिएको ५ जनालाई पनि ह्याम्स अस्पताल भर्ना गरेको हो।
‘सुरूमा पुष्टि भएका ९ जना संक्रमितलाई हामीले एपिएफको अस्पतालमा पनि भर्ना गर्यौं। तर एकदिनमै उहाँहरूले त्यहाँको व्यवस्थापन चित्त नबुझाउनु भएपछि उहाँहरूलाई पनि ह्याम्स नै भर्ना गर्यौं,’ स्रोतले भन्यो।
निगमकी प्रवक्ता अर्चना खड्काले पनि निजी अस्पतालमा महंगो भएपछि संक्रमितहरूलाई सोल्टी होटलको आइसोलेसनमा सारिएको जनाइन्। उनले भर्ना गरिएको पाँच दिनपछि संक्रमितहरूलाई होटलमा लगिएको जनाइन्।
आइसोलेसनमा भर्ना भएका उनीहरुको लागि छुट्टै मेडिकल टिम खटाइएको निगमले जनाएको छ।
प्रवक्ता खड्काले भनिन्, ‘हामीले उहाँहरूको लागि भनेर छुट्टै मेडिकल टोली खटाएका छौं। उहाँहरूको पहिलो रिपोर्ट नेगेटिभ आइसकेको छ। अब दोस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि उहाँहरूलाई घर पठाउँछौं।
कोरोना संक्रमितहरूको अस्पतालमा उपचार भएको खर्च सरकारले बेहोर्ने भने पनि निजी अस्पतालमा उठ्ने गरेको खर्च चर्को छ।
स्वास्थ्य मन्त्रालयले अस्पतालहरूलाई लक्षणविहीनको उपचार गरेबापत कति अनुदान पाउने भनेर वर्गीकरण गरेको छ। जसमा लक्षणविहीनको आइसोलेसनमा उपचार गरेबापत २ हजार, सामान्य लक्षण भएकाको लागि ३ हजार ५ सय रुपैयाँ दिने भनेको छ।
यस्तै मध्यम जटिल संक्रमितको उपचारको लागि ७ हजार र जटिल र क्रिटिकल संक्रमितको उपचारको लागि दैनिक १५ हजार रुपैयाँ दिने भनिएको छ।
सरकारले छुट्याएको उपचार खर्चले निजी अस्पतालमा संक्रमितको उपचार गर्न नसकिने निगमको भनाइ छ।