01, May, 2024

गण्डकी प्रदेश सभा बैठक बहिष्कार गर्ने कांग्रेस र राप्रपाको तयारी

बागमती भ्वाइस
बागमती भ्वाइस
६ बैशाख २०८१, बिहीबार १६:३६ | १ हफ्ता अगाडी

पोखरा । नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रवार बस्ने गण्डकी प्रदेश सभा बैठक बहिष्कार गर्ने तयारी गरेको छ ।

सर्वोच्च अदालतको आदेश विपरीत प्रदेश सभा बैठक बोलाइएको भन्दै कांग्रेस र राप्रपाले बहिष्कार बैठक गर्ने तयारी गरेको हो ।

सर्वोच्च अदालतले मुख्यमन्त्री अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकारलाई नियमित कार्य सञ्चालन बाहेकका काम र दीर्घकालीन असर पर्ने निर्णयहरू नगर्न अन्तरिम आदेश दिएको थियो ।

आदेशको अवहेलना गर्दै गरिएको संसदीय गतिविधिमा कांग्रेस सहभागी नहुने कांग्रेस गण्डकीका संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिए ।

‘शुक्रवार बस्ने प्रदेश सभा बैठकको विषयमा भोलि बिहान छलफल हुन्छ । बैठकबाट आधिकारिक निर्णय हुन्छ,’ उनले भने, ‘हामी आदेशको अवहेलना गर्दै गरिएको कुनै पनि संसदीय गतिविधिमा सहभागी हुँदैनौ ।’

राप्रपा गण्डकी संसदीय दलका नेता पञ्चराम गुरुङले अदालतबाट कुनै निर्णय नआएसम्म संसदीय गतिविधिमा सहभागी नहुने बताए ।

‘सरकारको विषय अदालतमा छ । अदालतले कुनै निर्णय नगरेसम्म त्यहाँ (संसद) हामी उपस्थित हुँदैनौ,’ गुरुङले भने ।

गण्डकी प्रदेश सभामा कांग्रेसका २७ र राप्रपाका २ सांसद छन् । एमाले संसदीय दलका नेता अधिकारीले सभामुख धिताललाई समेत माओवादी दलको सदस्यमा गणना गरेर चैत २५ गते मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

प्रदेश प्रमुख भट्टले पनि त्यही दिन अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेपछि निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सर्वोच्च पुगेका थिए ।

आदेशको अवहेलना गरेको भन्दै कांग्रेस गण्डकीले प्रदेश सरकार र प्रदेश प्रमुखविरुद्ध पूरक मुद्दा दर्ता गराएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक न्यौपानेका अनुसार सरकार र प्रदेश प्रमुखविरुद्ध बिहीबार सर्वोच्च मुद्दा दर्ता भएको हो ।

६ बैशाख २०८१, बिहीबार १६:३६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading