01, May, 2024

सिटीलाई पेनाल्टी सुटआउटमा हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

बागमती भ्वाइस
बागमती भ्वाइस
६ बैशाख २०८१, बिहीबार ०८:०५ | १ हफ्ता अगाडी

काठमाडौं । साविक विजेता म्यानचेष्टर सिटीलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै स्पानिस क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

दुई लेगको खेल समग्रमा ४-४ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।

रियलको मैदानमा भएको पहिलो लेग ३-३ को बराबरीमा सकिएको थियो भने गएराति सिटीको घरेलु मैदानमा भएको दोस्रो लेगको खेल १-१ को बराबरीमा सकिएको थियो ।

रियलका लागि रोड्रिगोले १२औं मिनेटमा गोल गर्दै अग्रता दिलाए पनि ७६औं मिनेटमा सिटीका केभिन डे ब्रुएनाले बराबरी गोल गरेका थिए । त्यसपछि ३० मिनेटको अतिरिक्त समयमा पनि दुवैतर्फबाट गोल भएन र खेल पेनाल्टी सुटआउटमा पुग्यो ।

पेनाल्टी सुटआउटमा रियलका किपर लुनिन नायक बने । उनले सिटीका बर्नार्डो शिल्भा र माटेयो कोभासिसको पेनाल्टी बचाए ।

त्यसअघि रियलका लागि लुका मोडरिचले हानेको पहिलो पेनाल्टी सिटीका गोलकिपर एडरसनले रोकेका थिए । तर त्यसपछि रियलका जुड बेलिङ्घहम, लुकास भजक्वेज, नाचो फर्नान्डेज र एन्टोनी रुडिगरले पेनाल्टीमा गोल गरे ।

सिटीका लागि जुलियन अल्भारेज, फिल फोडेन र एडरसनले मात्र गोल गरे ।

रियलले अब सेमिफाइनलमा जर्मन क्लब बायर्न म्युनिखसँग खेल्नेछ । बायर्नले दोस्रो लेगमा आर्सनललाई १-० ले पराजित गर्दै समग्रमा ३-२ को जित निकालेको हो ।

बायर्नलाई जित दिलाउन जोसुअ किम्मिचले निर्णायक गोल गरे । यी दुई बीचको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो ।

६ बैशाख २०८१, बिहीबार ०८:०५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading