वि.सं.२०८३ असार १ सोमवार

संवाद यात्रापछि महामन्त्री गगन थापा भन्छन्, ‘कांग्रेसलाई समुदायमा फर्काएका छौँ, अब हिँड्ने हो’

khanepani

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समुदायमा कांग्रेस अभियान अन्तर्गत थालेको संवाद यात्रा टुंग्याएका छन्।

माघ १३ गते झापाको मेची पुलबाट गरेको यात्रा मङ्गलवार कञ्चनपुरस्थित महाकाली पुलमा पुगेर टुंग्याएका हुन्। यात्राको क्रममा हुलाकी राजमार्ग अन्तर्गत १४५० किमी २१ वटा जिल्ला हुँदै यात्रा गरेको महामन्त्री थापाले बताएका छन्।

उनले भनेका छन्, ‘यस संवाद यात्राका क्रममा हामीले खुला संवाद, स्थानीय समस्या र सम्भावनामा केन्द्रित संवाद, सेवा प्रवाह गर्ने ठाउँको अवलोकनको कार्यक्रम, वैदेशिक रोजगारीबाट फर्किएर स्थानीय तहमा काम गरिरहेको मान्छेसँग व्यक्तिगत कुराकानी लगायतका कार्यक्रमहरू गरी नेपाली काङ्ग्रेसलाई समुदायमा फर्काउने र पार्टी रूपान्तरणको अभियानको थालनी गरेका छौँ।’

यो चरणको संवाद यात्राको अन्तिम दिन सुदूरपश्चिमको प्रसिद्ध धार्मिक स्थल धनगढी स्थित नैनादेवि मन्दिर दर्शन सँगै, नेपाली क्रिकेट क्षेत्रमा अतुलनीय योगदान दिइरहेको सुदूरपश्चिम र सुदूरपश्चिमको क्रिकेटका लागि विशेष योगदान र सम्भावना भएको फाप्ला क्रिकेट मैदान सुधार, स्तरोन्नति र आवश्यकता पहिचानका लागि अवलोकन गरेको उल्लेख गरेका छन्।

अभियानका क्रममा थापाले पार्टी नेताहरूसँग छलफल, नेता कार्यकर्ताको सुझाव, जनताका सवाल जनतासँगै रहेर सुन्ने हाम्रो प्रयत्न र खुला संवाद, जनप्रतिनिधिसँग छलफल गरेका थिए।

उनले भनेका छन्, ‘हुलाकी राजमार्ग अन्तर्गत यो संवाद यात्राको अन्तिम दिन आज भए तापनि मेरो लागि यो एउटा नौलो यात्राको प्रारम्भ भएको महसुस गरेको छु। संवाद यात्रा टुङ्गिएको छैन अब निरन्तर हिँड्ने हो।’

यात्राको सुरुआत गर्दा अर्का महामन्त्री विश्वप्रकाश शर्मा, नेताहरू कृष्णप्रसाद सिटौला, प्रदीप पौडेललगायत नेताहरूका उपस्थितिमा झापाबाट यात्रा थालेका थिए।

ranechhap