29, Apr, 2024

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले १० गतेभित्र विश्वासको मत लिने तयारीमा

बागमती भ्वाइस
बागमती भ्वाइस
३ बैशाख २०८१, सोमबार १६:३६ | २ हफ्ता अगाडी

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले अदालतले तोकेको पेसी अगाडि नै विश्वासको मत लिने तयारी गरेका छन् ।

गण्डकी प्रदेश सरकार गठनविरुद्ध नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिट उपर वैशाख १० गते पेसी तोकिएको छ ।

सुरूवातमै अल्पमतमा देखिएको गण्डकी प्रदेश सरकारले अदालतले आदेश दिनुअगावै विश्वासको मत लिने तयारी गरेको हो । गण्डकी प्रदेश सरकारका प्रवक्तासमेत रहेका विना विभागीय मन्त्री हरिबहादुर चुमानले अदालतको पेसी अगाडि नै विश्वासको मत लिने गरी आन्तरिक तयारी थालिएको जानकारी दिए ।

‘अहिले पुर्‍याउने भनेकै संख्या हो । त्यो संख्या पुग्नेबित्तिकै मुख्यमन्त्रीज्यूले विश्वासको मत लिनुहुन्छ’, उनले भने, ‘सकेसम्म १० गतेभन्दा अगाडि नै विश्वासको मतका लागि सबै दलसँग छलफलमा जुटिरहेका छौं ।’

नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । अधिकारीले संविधानको धारा १६८ (२) अनुसार सरकार आह्वान गर्दा दलको बहुमतले पुग्ने भन्दै एमालेका २२, सभामुखसहित माओवादीका ८ र राजीव गुरुङ ‘दीपक मनाङे’समेत गरी ३१ जना सांसद पुर्‍याएर प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

सभामुखलाई गणना गर्न नहुने भन्दै नेपाली कांग्रेसले प्रदेश प्रमुखलाई असहमति पत्र बुझाएको थियो । तर, प्रदेश प्रमुख भट्टले अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेपछि नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे चैत २७ गते गण्डकी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च पुगेका थिए ।

सोही रिटउपर सर्वोच्च अदालतले मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णयहरू नगर्न अन्तरिम आदेश दिएको थियो । सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले बुधबार सरकारलाई नियमित कार्य सञ्चालन बाहेकका काम नगर्न रोक लगाएको थियो ।

पाण्डेले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश शर्माको इजलासले निवेदनको माग बमोजिम आदेश किन जारी नगर्ने भनेर ७ वैशाखभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरिएको कागजातको सक्कल पेश गर्न भनिएको छ ।

अब १० गते सर्वोच्चको आदेश आएपछि मात्रै गण्डकी प्रदेश सरकारको भविष्य टुंगो लाग्नेछ । सोही कारण पनि मुद्दा सुनुवाइअघि नै बहुमत पुर्‍याएर विश्वासको मत लिन लागिएको हो । ‘बहुमत पुर्‍याउने नै अहिलेको मुख्य विषय हो । यो विषयमा हामी सबै दलहरुसँग छलफल गरिरहेका छौं’, सरकारका प्रवक्ता चुमानले भने ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ सांसद चाहिन्छ । सत्ता गठबन्धनमा नेकपा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ र स्वतन्त्र (दीपक मनाङे) छन् भने, अर्कातर्फ नेपाली कांग्रेसका २७ र राप्रपाका २ सांसद छन् ।

३ बैशाख २०८१, सोमबार १६:३६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading