01, May, 2024

बुटवलका २६ वर्षीय युवा शान्तम थैवले चालीस करोडमा खोलेको ‘दि क्राउन इन’

बागमती भ्वाइस
बागमती भ्वाइस
२९ चैत्र २०८०, बिहीबार १४:२६ | २ हफ्ता अगाडी

काठमाडौ । काठमाडौ बुटवलका २६ वर्षीय युवा शान्तम थैवले ‘दि क्राउन इन’ होटल खोलेका छन्।

कोरोना महामारीको असर, आर्थिक मन्दी लगायतका कारण पर्यटन क्षेत्र सुस्ताइरहेका बेला शान्तम पर्यटन उद्योगमा प्रवेश गरेका हुन्।

उनले तिलोत्तमा नगरपालिकाको जानकीनगरमा दि क्राउन इन होटल सञ्चालनमा ल्याएका छन्।

नेपालमा केही हुँदैन र सबै खत्तम भयो भन्ने निराशाजनक कुरा गर्न छाडेर यहीँ केही गर्न सकिन्छ भन्ने सन्देश दिन र गरेर देखाउन होटल सञ्चालन गरेको उनले बताए।

‘मुलुकमा अहिले देखिएको विषम परिस्थिति सधैं नरहला। केही समयपछि पक्कै पनि सुधार भएर राम्रो हुन्छ,’ उनले भने, ‘आफ्नै देशमा केही गर्नुपर्छ भन्ने विश्वास र आशाका साथ लगानी गरेको हुँ।’

बुटवल-भैरहवा खण्डको तिलोत्तमा हाइवे, जानकीनगरमा खुलेको ६ तले होटलमा ४० करोड रूपैयाँ लगानी गरिएको उनले बताए।

‘म जन्मेको माटोमा केही गर्नुपर्छ भनेर नेपाल फर्केर आएको हुँ। हामीले आफ्नो जन्मप्रति सम्मान गर्नुपर्छ,’ उनले भने।

शान्तम थाइल्यान्डमा पढेर फर्केका हुन्।

उनको परिवार पनि व्यापारमै संलग्न छ। त्यसैले बुवा अनन्तले गरिरहेको व्यापार नजिकबाट देख्दै उनी हुर्किए।

कक्षा चारदेखि शान्तम काठमाडौंको होस्टल बसेर पढे। जाडो महिना, दसैंतिहार र वार्षिक परीक्षा सकिएपछि वर्षमा तीनपटक स्कुल बिदा हुन्थ्यो। बिदाका बेला उनी बुटवल आउँथे बुबासँगै पसल जान्थे।

बुबा अनन्तको बुटवल राजमार्ग चौराहमा विद्युतीय स्वीच, बोर्ड, बल्ब लगायत सामानको पसल थियो। शान्तम बुटवल आएका बेला बुबालाई पसलमा पालो दिन्थे। उनको भरमा पसल छाडेर बुबा खाना खान, बैंक वा व्यापारिक कामका लागि बाहिर जान्थे।

‘त्यति बेलादेखि नै मलाई पढेर सकेपछि आफू पनि कुनै न कुनै व्यवसायमा लाग्ने चाहना पलाएको थियो,’ शान्तमले भने।

काठमाडौंबाट प्लस-टुको पढाइ पूरा गरेपछि उनका धेरै साथीहरू पढ्न विदेश गए। उनलाई सके नेपालमै, नभए भारत भन्दा अन्त गएर पढ्न मन थिएन। त्यसैले उनले भारतको शारदा युनिभर्सिटीमा स्नातक पढे। स्नातकोत्तर पढ्न भने थाइल्यान्डमा छात्रवृत्ति पाए।

‘घरबाट खर्च पठाएर त राम्रोसँग पढ्न नसकिने अवस्थामा विदेशमा आफैंले कमाएर खर्च जुटाएर राम्रोसँग पढ्न सकिन्छ भन्ने मलाई लाग्दैन थियो,’ उनले भने, ‘विदेश गएपछि पढ्नेभन्दा कमाउने ध्यान हुने र कमाउन सुरू गरेपछि नेपाल फर्किन सकिँदैन भन्ने थियो।’

पढ्न भारत बसेका बेला नै शान्तमले नेपालमा पर्यटनको राम्रो सम्भावना भएको बुझिसकेका थिए। उनले होटल खोल्ने निधो गरे।

विद्युतीय सामग्रीको व्यवसायमा बुटवलमा राम्रै जमेका उनका बुबा अनन्तले जानकीनगरमा दुई कट्ठा जमिन किनेका थिए। स्नातक सकेर भारतबाट फर्किएपछि शान्तमले त्यही जग्गामा होटल बनाउने निधो गरे।

भवनको दुई तला बनिसकेको थियो, कोरोना महामारी फैलियो। भवन निर्माणको काम अघि बढ्न सकेन।

कोरोना नियन्त्रणमा आइसक्दा उनले स्नातकोत्तर पढ्न थाइल्यान्डमा छात्रवृत्ति पाइसकेका थिए। उनी उतै गए।

‘पढाइसँगै यता भवन निर्माणको काम पनि अघि बढ्दै गयो। दुई वर्षमा मास्टर्स पूरा गरेर फर्केँ र होटल चलाउने तयारीमा लागेँ,’ उनले भने।

होटल खोल्ने भनेपछि उनले यसबारे केही बुझे पनि। देशका मुख्य सहरमा होटल कसरी चलिरहेका छन्, ग्राहकहरू होटलमा के चाहन्छन्, उनीहरूको रूचि के केमा हुन्छ भनेर बुझ्न उनी हरेक महिनाजसो पोखरा र काठमाडौं गइरहन्थे। ग्राहकका रूपमा विभिन्न होटल र रेस्टुरेन्ट पुग्थे।

‘यसरी जाँदा मैले ग्राहकको रूचि बुझ्न पाएँ। पोखरामा विदेशी खाना बढी चल्ने रहेछ। बुटवलमा भने होटलमा पनि दालभात-तरकारी नै खानेहरू धेरै छन्। काठमाडौंमा दुई-चार सय रूपैयाँ तिरेर एक कप कफी खानेहरू छन्। यहाँ ६० रूपैयाँको कुकर कफीमा रमाउनेहरू छौं,’ शान्तमले आफ्नो अनुभव सुनाए, ‘यी सबैलाई मध्यनजर गरेर खानाका परिकार र मूल्य निर्धारण गरेका छौं।’

नेपालमा पर्यटन र हस्पिटालिटीमा राम्रो सम्भावना भएकाले सक्दो कम मूल्यमा गुणस्तरीय सेवा दिए व्यवसाय सफल हुने उनी बताउँछन्।

लुम्बिनी र बुद्ध सर्किटमा आउने तेस्रो मुलुकका र बेलहियाबाट नेपाल आउने भारतीय पर्यटक तान्न सके रूपन्देहीका होटल सञ्चालन गर्न गाह्रो नहुने उनले बताए।

उनका अनुसार लुम्बिनी र बुद्ध सर्किट भ्रमणमा आउने पर्यटक आकर्षित गर्न धेरै मेहनत गर्छ। तर बेलहियाबाट छिरेर पोखरा, चितवन, काठमाडौं, मुक्तिनाथ लगायत ठाउँमा जाने भारतीय पर्यटकलाई एक दिन मात्र भए पनि रूपन्देहीमा रोक्न सकिन्छ।

कोरोनापछि हाम्रो पर्यटन क्षेत्र चलेकै भारतीय पर्यटकले हो,’ उनले भने, ‘अहिले पनि यहाँका ठूला होटलमा दस वटा गाडी पार्क भएका छन् भने ८ वटा भारतीय गाडी हुन्छन्।’

भारतको उत्तर प्रदेशका पर्यटक मात्र आकर्षित गर्न सके पनि यहाँको पर्यटन क्षेत्र सजिलै धानिने उनी बताउँछन्।

शान्तमको होटल दि क्राउन इनमा ४० कोठा छन्।

यिनलाई सेमी-स्विट, डिलक्स र सुपर डिलक्स गरी तीन वर्गमा छुट्ट्याइएको छ। यहाँ बस्न चार हजारदेखि १४ हजार रूपैयाँसम्म तिर्नुपर्छ।

यो बस्नका निम्ति मात्र बनाइएको होटल हो। बिहे, पार्टी, ठूला सभा वा गोष्ठी गर्ने व्यवस्था छैन। यसले गर्दा यहाँ शान्त वातावरण भएको र पाहुनालाई ‘डिस्टर्ब’ नहुने शान्तमले बताए।

‘हाइवेको छेउमै भए पनि सबै कोठा साउन्ड-प्रुफ छन्। बाहिरको आवाज सुनिँदैन,’ उनले भने।

होटलमा ५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।

दि क्राउन इनलाई दिगो रूपमा चलाउने आफूहरूको लक्ष्य रहेको होटलका अध्यक्ष तथा शान्तमका बुबा अनन्त थैवले बताए।

२९ चैत्र २०८०, बिहीबार १४:२६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading