काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक प्रदीप यादवले चप्पल लगाएर काठमाडौँ आएका तर ठुला ठुला महल र चार चार वटासम्म गाडी किन्ने हैसियत बनाएका नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद यादवले गणतन्त्र आएपनि जनता निराश रहेको बताए ।
उनले भने,‘गणतन्त्र आएको १७ वर्ष भयो तर जनता निराश छन्, हिजोका दिनमा जनताले ढोल बजाएर, ज्यानको आहुति दिएर गणतन्त्र ल्याए तर ती जनता आज निराश छन् । किनकि जनताले निःशुल्क शिक्षा, निःशुल्क स्वास्थ्य सेवा पाइरहेका छैनन् । नेताहरूको मोजमस्ती बढेको छ । २०४७ सालदेखिको भ्रष्टाचारका फाइल खोल्ने कुरा आएको छ । खाली चप्पल काठमाडौँ आएको नेताको ठुला ठुला बिल्डिङ चार चारवटा पजेरो कहाँबाट आयो ? छानबिन गर्नुपर्छ । तबमात्र जनताको निराशा हट्छ ।’
उनले कर्मचारीतन्त्रको पनि सम्पत्ति छानबिन गर्नुपर्ने बताए । उनले साना साना व्यवसाय गरी जनताले बचत गरेको रकम हिनामिना भएको बताउँदै देशभरका सबै सहकारीको छानबिन गर्न माग गरे ।
सांसद यादवले हालको देशको अर्थतन्त्र सन्तोषजनक नरहेको बताए ।







































