04, May, 2024

महासंघको दाबी- देशभर ५०० वटा सहकारी समस्यामा छन्

बागमती भ्वाइस
बागमती भ्वाइस
२७ चैत्र २०८०, मंगलवार १७:०२ | ३ हफ्ता अगाडी

काठमाडौं । पछिल्लो समय जताततै सहकारीमा समस्या भएको खबर आइरहेको छ । तर, राष्ट्रिय सहकारी महासंघले देशभर ५०० वटा सहकारीमा मात्रै समस्या आएको दाबी गरेको छ । महासंघका अजनुसार ३० हजार प्राथमिक सहकारीमध्ये ५०० मा मात्रै समस्या देखिएको हो ।

महिला आर्थिक पत्रकार संघ (फेजा)सँगको भेटमा महासंघका पूर्वअध्यक्ष केशव बडालले सहकारीको दर्शनविपरीत चलेको १०० वटा सहकारी र बाँकी ४०० सहकारी र कम्पनी छुट्याउन नजान्दा समस्यामा रहेको बताए । बडालका अनुसार यो भनेको १.५ प्रतिशत सहकारीमा मात्र समस्या देखिएको हो । महासंघकी अध्यक्ष ओमदेवी मल्लले पनि थोरैमात्र सहकारीमा समस्या भएको दाबी गरिन् । उनका अनुसार सबैभन्दा बढी महिला आवद्ध भएको क्षेत्र पनि सहकारी हो ।

‘सहकारी क्षेत्रमा ७५ लाख महिला आवद्ध छन् । ४ हजार ६०० सहकारी महिलाले मात्र सञ्चालन गरिरहेका छन् । जसमा ९१ प्रतिशत सफल छ’, अध्यक्ष मल्लले भनिन् । कुल गार्हस्थ उत्पादन (जीडीपी)मा सरकारीको ५ प्रतिशत योगदान रहेको बताउँदै उनले १ लाखभन्दा बढीले सहकारीमा प्रत्यक्ष र १२ लाखभन्दा बढीले अप्रत्यक्ष रोजगारी पाएको जानकारी दिइन् ।

‘कुल गार्हस्थ उत्पादनमा ५ प्रतिशत योगदान कुनै आधिकारिक तथ्यांक होइन । अनुमानको भरमा भनिएको ५ प्रतिशत योगदानका कुरा चल्न थालेको लामै समय भयो’, अध्यक्ष मल्लले भनिन्, ‘जबसम्म सहकारीलाई उद्योग व्यवसायको रुपमा लिइँदैन, तबसम्म अनुमानका भरमा मात्र जीडीपीको योगदान ५ प्रतिशत भन्नुपर्ने बाध्यता छ ।’उनका अनुसार वित्तीय क्षेत्रमा सहकारीको २० प्रतिशत योगदान रहेको बताइन्छ ।

महासंघले ५०० वटा समस्यामा रहेको बताए पनि समस्याग्रस्त सहकारी व्यवस्थापनको कार्यालयले हालसम्म २० वटालाई मात्र समस्याग्रस्त घोषणा गरेर व्यवस्थापनको जिम्मा लिएको छ ।

२७ चैत्र २०८०, मंगलवार १७:०२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading