चितवन । कोटेश्वरको व्यापारी रामहरी श्रेष्ठको हत्यामा संलग्न भएको अभियोगमा फरार रही १५ वर्षपछि मंगलबार पक्राउ परेका कालीबहादुर खामविरुद्धको बहस आज हेर्दाहेर्दैमा गएको छ ।
मंगलबार काठमाडौँको ठमेलबाट पक्राउ परेका खामलाई हिजो बिहानै प्रहरीले चितवन जिल्ला अदालत हाजिर गराएपनि काठमाडौँबाट मिसिल नआइपुगेकोले आज मात्रै खामको बयान भएको थियो ।हिजो साँझ सर्वोच्च अदालतबाट मुद्दाको मिसिल आइपुगेपछि आज बिहान खामको बयान भएर दिउँसोबाट बहस सुरु भएको थियो । तर, आज वादीका तर्फबाट तीन र प्रतिवादी खामका तर्फबाट दुई जना मात्रै अधिवक्ताले बहस गर्न भ्याएका छन् ।
वादीका तर्फबाट जिल्ला सरकारी न्यायाधिवक्ता शान्तीप्रसाद लुईँटेल, सहायक न्यायाधिवक्ता अमृत सुवेदीले बहस गरेका थिए भने जाहेरवाला रमिला श्रेष्ठको तर्फबाट अधिवक्ता पुष्प पौडेलले बहस गरे । प्रतिवादी खामका तर्फबाट भने ८ जनाजतिले वकालतनामा लिए पनि दुई जनाले मात्रै आज बहस गर्न भ्याए । जिल्ला अदालत चितवनका श्रेस्तेदार विष्णुप्रसाद आचार्यका अनुसार आज प्रतिवादीका तर्फबाट अधिवक्ता गोपीलाल देवकोटा र विजय हमालले बहस गरेका हुन् ।
आज बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको श्रेस्तेदार आचार्यले जानकारी दिए । जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको बेञ्चमा मुद्दाको बहस हिजैदेखि भएको हो । भोलि पनि बहस पछि थुनछेक आदेश हुने आचार्यले जानकारी दिए ।