रामेछाप । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले अहिलेको परिवेशमा कांग्रेस पार्टी चलाउने शैलीमा परिवर्तन आवश्यक भएको बताएका छन् ।
रामेछापमा आइतबर आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टी सञ्चालन शैली समयानुकूल बनाउनुपर्नेमा जोड दिए । जिल्ला सभापति कान्छाराम तामाङ, पूर्वसभापति रामचन्द्र खड्का, रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेलगायत उपस्थित कार्यक्रममा बीपी पुत्र कोइरालाले १५औं महाधिवेशनबाट पार्टीको नेतृत्व लिन माग गरेपछि फरक ढङ्गले पार्टी सञ्चालन गर्ने योजनासहित आफूले नेतृत्व गर्ने बताए ।
‘तपाईंहरुको आग्रह जायज छ । सोहीअनुसार म नेतृत्वका लागि अघि बढ्छु । सभापति बनेर अहिलेभन्दा भिन्न ढङ्गले पार्टी चलाउने मेरो योजना छ’, उनले भने । यसअघि शहीद गङ्गालाल फाउण्डेसनले रामेछापमै आयोजना गरेको कार्यक्रममा कोइरालाले चिकित्सक र राजनीति दुई पेशाबीच ठूलो भिन्नता रहेको उल्लेख गरे ।
चिकित्सकले आफ्नो पेशामा आफ्नै हात र दिमागको उपयोग गर्न पाउने तर एउटा राजनीतिकर्मीले सम्पूर्ण रुपले आफ्नै राजनीतीलाई डोर्याउन नसक्ने अवस्था रहेको उनको भनाइ छ । फाउण्डेसनको आयोजनामा भएको बृहत स्वास्थ्य शिविरलाई सम्बोधन गर्दै कोइरालाले अन्य पेशाकर्मीको तुलनामा चिकित्सकले बढी विवेक पुर्याउनुपर्ने उल्लेख गरे ।
बिरामीको शल्यक्रिया गर्नुपूर्व पैसा जम्मा गर्नैपर्ने बाध्यता अन्त्य गर्नुपर्ने बताउँदै उनले उपचार गर्नु पहिले नै पैसा माग्ने चिकित्सकको व्यवहार सुधार्नुपर्नेमा जोड दिए ।‘डाक्टर भनेको पूर्ण रुपमा विवेकशील बन्नुपर्छ । उपचार गर्नुपूर्व नै पैसा खोज्ने डाक्टरको के काम ?’, उनको प्रश्न थियो ।
सोही अवसरमा कोइरालाले जिल्ला अस्पताल रामेछापका विभिन्न कक्षको निरीक्षण गरी जिल्लाको स्वास्थ्य सेवाको स्थितिबारे अस्पतालका मेसु केशव श्रेष्ठसँग जानकारी लिएका थिए ।
फाउण्डेसनको आयोजना भएको शिविरबाट जिल्लाका ४०० भन्दा बढी नागरिक लाभान्वित भएको संस्थाले जनाएको छ ।