काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रहरीको कुटपिटबाट घाइते भएका पत्रकारको न्यायका लागि पत्रकारहरू ६ दिनदेखि अनसन बसेका छन् ।
काठमाडौंको सुन्धारामा १६ फागुनमा फुटपाथ व्यवसायी र महानगर प्रहरीबीच भएको झडपको रिपोर्टिङका क्रममा प्राणमञ्च मासिकका प्रधानसम्पादक पदमप्रसाद पोख्रेल पनि कुटिएका थिए । उनकै न्यायका लागि पत्रकारहरू गत मंगलबारदेखि राष्ट्रिय सभागृहमा रिले अनसन बसेका हुन् ।
पीडित पोख्रेललाई न्याय र क्षतिपूर्तिको लागि श्रमजीवी पत्रकार संघको अगुवाइमा सो कार्यक्रम गरिएको र न्याय प्राप्ति नहुँदासम्म अनसन जारी रहने संघका अध्यक्ष जन्मदेव जैसीले बताए ।
गत सोमबारबाट महानगर प्रमुख बालेन्द्र शाहको कार्यकक्ष रहेको राष्ट्रिय सभागृहको मूलगेटमा अनसन बस्दा पनि महानगरपालिका बेखबर रहनु र नेपाल पत्रकार महासंघले पनि उदासीनता देखाउनु निकै दु:खद् भएको पीडित पदम पोख्रेलले गुनासो गरे ।
घटना भएको तीन साता पुग्दा पनि महानगर प्रशासनले बेवास्ता गरेकोले रिले अनसन थालिएको र न्याय प्राप्ति नहुँदासम्म अनसन जारी रहने अध्यक्ष जैसीले बताए ।
एसपी मनोज लामिछाने नेतृत्वको नगर प्रहरीले कुटपिट र लछारपछारका साथै पोख्रेलसँग भएको ल्यापटप, क्यामेरा, मोबाइल, प्रेस परिचयपत्र र क्यामेरा ब्यागसमेत खोसेको थियो ।
२० गते आइतबार श्रमजीवी पत्रकार संगठनको ध्यानाकर्षण पत्र र पदम पोख्रेलको निवेदन बुझ्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले माग सम्बोधन गर्ने बताएका थिए । यतिका दिन बितिसक्दा पनि घटनाको विषयमा महानगर मौन रहेकोले अनसन बस्नु परेको अध्यक्ष जैसीले बताए ।
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]