वि.सं.२०८१ फागुन ३ शनिवार

प्रधानमन्त्री ओली आफ्नै कारणले चौतर्फी दबाव र घेराबन्दीले थकित, प्रचण्ड खुमलटार फिर्ता

काठमाडौं । भगवान रामचन्द्रको जन्मभूमि नेपाल नै हो भनेर सोमबार भानुजयन्तीका दिन दाबी गरेका प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार निकै गलेको र थाकेको अवस्थामा आराम गरिरहेका छन ।

प्रधानमन्त्रीको थकानकै कारण नेकपाका दूई अध्यक्षवीच हुने भनिएको आन्तरिक छलफल विषयमा प्रवेश गर्न नसकी बुधबारका लागि सर्‍यो ।
प्रधानमन्त्री ओलीको अभिव्यक्तिका कारण भारतमा सोमबारदेखि नै निकै ठूलो तरंग आइसकेको थियो । नेपालले नक्सा जारी गर्दासमेत विज्ञप्ति जारी नगरेको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले विज्ञप्ति नै जारी गरेर ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएको थियो ।

स्वदेशमा पनि नेकपा उपाध्यक्ष वामदेव गौतमदेखि लिएर विभिन्न नेताहरुले प्रधानमन्त्रीको अभिव्यक्तिको आलोचना गरे । जनस्तरमा पनि प्रधानमन्त्रीको आलोचनाका स्वरहरु सुनिए । देश(विदेशमा भएको चर्को विरोधसँगै प्रधानमन्त्री ओली आफ्नै बोलीका कारण घेराबन्दीमा परे ।

प्रधानमन्त्री ओली आफ्नै कारणले चौतर्फी दबाव र घेराबन्दीमा परेकै बेला कार्यकारी अध्यक्ष प्रचण्ड मंगलबार दिउँसो पार्टीको आन्तरिक विषयमा छलफल गर्न भन्दै बालुवाटार पुगेका थिए । बालुवाटार स्रोतले दिएको जानकारी अनुसार प्रधानमन्त्रीलाई थकित अवस्थामा देखेपछि प्रचण्ड पार्टीको आन्तरिक विषयमा कुरा नगरी खुमलटार फर्किए । ‘तपाई थाक्नुभएको रहेछ, आज आराम गर्नुहोस्, भोलि कुरा गरौंला’ भन्दै प्रचण्ड बालुवाटारबाट निस्किएको स्रोतले बतायो ।

भारतीय हिन्दूवादी उत्तेजित

प्रधानमन्त्री ओलीले अयोध्याका विषयमा गरेको टिप्पणीका कारण भारतीय सन्त एवं त्यहाँका हिन्दूवादीहरु उत्तेजित हुने संकेतहरु देखिएका छन् । भारतीय मिडियामा आएका कतिपय सन्तको अभिव्यक्ति हेर्दा उनीहरुले सडक आन्दोलन गर्नेसम्मको चेतावनी दिएको पाइएको छ ।

Untitled