काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण रोकिएको छ । मंगलबार आयोजनाको अम्बाथानस्थित फ्लसिङ (आवश्यक गर्दा पानी फाल्न बनाइएको) गेट एक्कासी खुलेर दुर्घटनापछि आयोजनाको परीक्षण स्वरुप पानी हाल्ने काम रोकिएको हो ।
मंगलबार दिउँसो परीक्षणका क्रममा रहेको सुरुङको फ्लसिङ गेटमा पानी चुहावटको दर निरीक्षण गर्न गएका ४ जनालाई गेट फुटेर आएको पानीले बगाएको थियो । त्यसमध्ये २ जनाको उद्धार भएको छ भने दुई जना बेपत्ता छन् ।
चिनियाँ कम्पनीकातर्फबाट गेटको निरीक्षणमा गएका एकजना इन्जिनियर र आयोजनाका सवारी चालक मेलम्चीमा बेपत्ता भएका हुन् । परमर्शदाता इप्टिसा र मेलम्ची खानेपानी बोर्डका एक–एक जना इन्जिनियर घाइते छन् ।
आयोजनाका प्रवक्ता राजेन्द्र पन्तका अनुसार अनुसार विहानको खाना खाएपछि उनीहरु सुरुङमा पानी चुहावटको अवस्था अध्ययन गर्न अम्बाथानको अडिट टनेल (मुख्य सुरुङमा जान बनाइएको सुरुङ) हुँदै फ्लसिङ गेटमा पुगेका थिए ।
तर, उनीहरु त्यहाँ पुगेकै बेला सुरुङमा पानीको चाप अत्यधिक भएर गेटको मेकानिकल नटहरु फुस्किएको थियो । सुरुङभित्र पानीको चापले पानीले गेट नै खोलेपछि उनीहरुलाई पानीको बेगले मेलम्ची खोलामा ल्याएर खसालेको थियो ।
हाल प्रहरीले बेपत्ताको खोजी गरिहरहेको छ । दुर्घटनापछि हाललाई मेलम्चीको अस्थायी बाँधबाट सुरुङमा पानी हाल्न पूर्ण रुपमा रोकिएको छ । अब सुरुङलाई खाली गरेर गेटहरुको अवस्था निरीक्षण गरेपछि मात्रै पुनः पानी हालिने प्रवक्ता पन्तले बताए ।
‘दुःखद घटना भयो, अब अरु पनि फ्लसिङ गेटहरुको अवस्था हेर्छौं,’ उनले भने, ‘यस्तो समस्या दोहोरिन नदिन के गर्ने भन्ने योजना अब परामर्शदाता र ठेकेदारले बनाउँछन्, त्यसैअनुसार काम हुन्छ ।’