29, May, 2024

समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले बोलाएको बैठकप्रति अध्यक्ष महिन्द्रराय यादवको आपत्ति

बागमती भ्वाइस
बागमती भ्वाइस
१ चैत्र २०८०, बिहीबार १६:४८ | २ महिना अगाडी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले बोलाएको बैठकप्रति अर्का अध्यक्ष महिन्द्रराय यादव पक्षधरले आपत्ति जनाएको छ ।

उनी निकट महासचिव रमेशप्रसाद यादवले वक्तव्य जारी गरेर डा. भट्टराईले बोलाएको बैठक आधिकारिक नभएको बताएका छन् ।

‘अध्यक्षद्वयको सहमतिमा बोलाउनुपर्ने बैठक महिन्द्रराय यादवको सहमति बिनै एक पक्षीय रुपमा अध्यक्ष डा.बाबुराम भट्टराईको निर्देशनमा बोलाइएकाले ४ र ५ गते बोलाइएको उक्त बैठक नेपाल समाजवादी पार्टीको बैठक नभएको जानकारी गराउँछु’, महासचिव यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अध्यक्ष भट्टराईले ४ चैतमा केन्द्रीय कार्यकारिणी समिति र ५ चैतमा केन्द्रीय समितिको बैठक बोलाएका थिए । भट्टराईले केन्द्रीय कार्यालयको नामबाट बैठक बोलाएका थिए ।

भट्टराईले बैठक बोलाउने र यादवले बैठक नभएको सूचना जारी गर्ने घटनाबाट नेसपाभित्रको विवाद फेरि सतहमा आएको हो । यादव नेकपा माओवादी केन्द्रसँग एकता गर्नुपर्ने पक्षमा उभिदै आएका छन् ।

तर भट्टराईले माओवादी केन्द्रको चिह्नबाट जितेका आफ्ना जनप्रतिनिधिहरुलाई अलग्गै दलको मान्यता दिन माग राखेर निर्वाचन आयोगमा गत २२ फागुनमा निवेदन दिएका छन् । अलग्गै दलको मान्यता दिन निवेदन दिएपछि डा.भट्टराईले केन्द्रीय कार्यकारिणी र केन्द्रीय समितिको बैठक बोलाएका थिए ।

गत वर्ष ४ मंसिरको चुनावमा नेसपाले माओवादी केन्द्रकै चिह्नबाट चुनाव लडेको थियो । अध्यक्ष यादवले माओवादीकै चिह्नबाट चुनाव जितेका हुन् भने नेसपाकी उमरावती देवी समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य छन् ।

प्रदेशसभातर्फ बागमतीमा सिन्धुली–२ (ख) बाट गंगानारायण श्रेष्ठ र गण्डकीमा गोरखा–२ (ख) बाट फणीन्द्र देवकोटा माओवादीकै चिह्नबाट जितेका नेसपा नेता हुन् ।

यी प्रतिनिधिहरुलाई नेसपाकै मान्यता दिन माग राखेर डा. भट्टराईले निवेदन दिएका बेला महिन्द्र राय यादवले भने बुधबार माओवादीकै सांसद बनेर प्रतिनिधिसभामा सम्बोधन गरेका छन् ।

बुधबार प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत मागेर राखेको प्रस्तावमा यादवले माओवादीका तर्फबाट बोलेका थिए ।

१ चैत्र २०८०, बिहीबार १६:४८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading