काठमाडौ । काठमाडौ प्रधानमन्त्रीसहित सत्तारूढ तीन दलका नेताहरूबीच बालुवाटारमा छलफल भएको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच मंगलबार बिहान बालुवाटारमा छलफल भएको हो।
प्रधानमन्त्री दाहालका सल्लाहकार गोविन्द आचार्यका अनुसार राष्ट्रिय सभा अध्यक्ष पदका लागि आज हुने निर्वाचन र बुधबार प्रधानमन्त्रीले प्रतिनिधि सभाबाट लिने विश्वासको मतलगायत विषयका सन्दर्भमा कुराकानी भएको हो।
गत फागुन २१ गते एमाले, माओवादी, रास्वपा र जसपाबीच नयाँ गठबन्धन बनाउने ८ बुँदे सहमति भएको थियो। त्यसैमा लतारिएर नआउने बताइरहेका एकीकृत समाजवादीका अध्यक्ष नेपालले आफूहरूसँग थप सहमति गर्नुपर्ने अडान राख्दै आएका थिए।
अध्यक्ष नेपालको मागलाई सम्बोधन गर्न मंगलबार बिहान बालुवाटारमा प्रधानमन्त्रीसहित छलफल गरिएको हो। एकीकृत समाजवादीको सोमबारको संसदीय दलले लिखित सहमति नगरे राष्ट्रिय सभा र प्रधानमन्त्रीलाई मत दिइरहनु नपर्ने निष्कर्ष निकालेको थियो।
त्यसपछि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई मनाउन छलफलमा बसेका हुन्। उनीहरूबीच के-के विषयमा समझदारी बन्यो भन्ने सबै सार्वजनिक भइरहेको छैन।
उनीहरूबीच सहमति भएको प्रधानमन्त्रीका सल्लाहकार आचार्यले बताए। थप नेताहरू बसेर सहमतिलाई पूर्णता दिने काम भइरहेको उनले बताए।
एकीकृत समाजवादीका केन्द्रीय सदस्य मोहन गौतमले पनि प्रधानमन्त्रीसहितको छलफलमा समझदारी बनेको बताए। उनकाअनुसार यसअघि सत्ता गठबन्धन दलहरूबीच ८ बुँदे सहमति भएकोमा त्यसमा एकीकृत समाजवादी पनि थपिनेछ।









































