काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले एमाले र माओवादी केन्द्रसहितको गठबन्धन बन्नु सुखद रहेको भन्दै यसलाई टिकाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो व्यवहार सुधार गर्नुपर्ने बताएका छन् ।
न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले विगतमा पनि ओलीले अपमान गरेका कारण प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग सहकार्य गरेको बताए ।‘उहाँले (प्रचण्ड) पहिला पनि केपी ओलीलाई छोड्न चाहनुभएको होइन, केपी ओलीको व्यवहारका कारणले उहाँ जानुभयो । संसदको क्याबिनमा प्रधानमन्त्रीको कुर्सीमा गएर बसिदिएर प्रधानमन्त्रीलाई उ पर राख्ने, आफू प्रधानमन्त्री बस्ने कुर्सीमा बसेको छ । फेरि पत्रपत्रिका आदिमा आउँछ । गल्ती गरिएछ पनि नभन्ने । भाषण गर्दा पुरानो अवस्थाका कुराहरु कोट्याउने, मैले गरेको ठीकै थियो भन्ने । आफूबाट आफैँ हट्ने स्थिति भयो । अहिले पनि त्यस्तै भयो भने स्थिति फरक हुन्छ’, उनले भने ।
अहिलेको गठबन्धन प्रधानमन्त्री प्रचण्डको चाहनामा नभई ओलीको चाहनामा बनेको गौतमले बताए । २०८४ मा शक्ति आर्जन गर्ने उद्देश्यले ओलीले कम्युनिस्टहरुलाई एक ठाउँमा ल्याएको उनको भनाइ छ ।‘त्यसको निम्ति अरुतिर भन्दा त मुख्य पार्टी नेकपा माओवादी केन्द्र नै हो एमाले पछि । यी दुई पार्टीलाई एकीकृत गरेर जाँदा नै ०८४ मा एउटा शक्ति आर्जन गर्न सकिन्छ भन्ने मान्यता कमरेड केपी ओलीको हो’, गौतमले भने ।
गठबन्धन टिकाउन ओली नै लाग्नुपर्ने भन्दै गौतमले त्यसका लागि भुलसुधार गर्नुपर्ने बताए ।
‘केपी ओलीले भुल सुधार गर्नैपर्छ । केपी ओलीकै कारण काखमा पुगेका प्रचण्ड फुत्किएर फेरि काँग्रेसतिर जानुपर्ने स्थिति किन सिर्जना भयो भन्दा प्रचण्डको व्यक्तित्वलाई कहिल्यै सम्मान गर्नुभएन । प्रधानमन्त्री भएको बेलामा सबैभन्दा माथिल्लो तहको व्यक्तित्व छ उहाँको भन्ने ठान्नुपर्छ । उहाँ बस्ने कुर्सीमा बस्दिने, आत्मलोचना छैन । व्यक्तित्वमा आघात पुगेपछि कसैले मान्दैन’, गौतमले भने ।