काठमाडाैं । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाको कुर्सी जलाएका छन्।
बुधबार दिउँसो विभिन्न माग लिएर त्रिवि उपकुलपति कार्यालय पुगेका नेविसंघ कार्यकर्ताले उपकुलपतिको कुर्सी जलाएका हुन्। आफ्ना कार्यकर्ताका मागबारे वेवास्ता गर्दै अपमानित गरेपछि उपकुलपतिको कुर्सी जलाउनुपरेको नेविसंघ त्रिवि समितिका एक पदाधिकारीले बताए।
उपकुलपतिको कार्यपक्षबाट कुर्सी बाहिर लगेर त्रिवि हाताभित्रको सडकमा नेविसंघले जलाएका हुन्।
नेविसंघका ती पदाधिकारीका अनुसार त्रिविले विद्यार्थी प्रतिनिधिविनै सिनेट बैठक आयोजना गरेकोमा विरोध गरिएको थियो। ‘विश्वविद्यालयलाई दलगतभन्दा पनि गुटगट भागबन्डामा लगेर नेकपा कार्यकर्ता भर्ती केन्द्र बनाएकोमा पनि हामीले विरोध गरेका हौं,’ उनले भने।
अनलाइन कक्षालाई प्रभावकारी बनाउन नसकेर प्रचारबाजी मात्रै गरेकोमा नेविसंघले फरक मत राखे पनि उपकुलपतिले माग सुन्न नचाहेकोले आक्रोशित विद्यार्थीले कुर्सी जलाएको ती पदाधिकारीले बताए।
‘यसअघि नै मागपत्रसहित अल्टिमेटम दिएका थियौं। माग पूरा हुने देखिएन। झन् अपमानित गर्न खोजेकोले कुर्सी जलाउनुपर्यो,’ ती पदाधिकारीले सेतोपाटीसँग भने।
विश्वविद्यालयले विभिन्न पदमा नियुक्ति गर्दा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्तालाई भर्ती गरेकोमा बुधबार विज्ञप्ति निकालेर नेविसंघले विरोध गरेको थियो।
उपकुलपति बाँस्कोटाले बैठक गरेर घटनाबारे प्रेस विज्ञप्तिमार्फत् जानकारी गराइने बताए।