काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ नक्सा पारित गर्दा अभूतपूर्व एकता देखाएकोमा दललाई धन्यवाद दिएकी छन्।
बुधबार साँझ संसदमा प्रतिनिधित्व गर्ने दलका नेताले शितल निवासमा डाकेर राष्ट्रपति भण्डारीले धन्यवाद दिएकी हुन्।
‘सीमा अतिक्रमणको कुरा आयो। सरकारले नयाँ नक्सा जारी गर्यो। संविधानको निशान छाप बदल्न संविधान संशोधन गर्नुपर्यो। त्यो क्रममा तपाईंहरूले अभूतपूर्व एकता देखाउनु भयो,’ राष्ट्रपतिको भनाइ उद्धृत गर्दै उनका स्वकीय सचिव भेषराज अधिकारीले भने,‘कोरोनाभाइरसको महामारीमा पनि विभिन्न दलका कार्यकर्ता प्रतिकार्यमा लाग्नुभएको छ। यी दुबै कामका लागि तपाईंहरूलाई धेरै धन्यवाद। आगामी दिनमा पनि यस्तै राष्ट्रिय एकता होस्।’
शितल निवासमा पुगेका जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले राष्ट्रपतिले मन्तव्य राखे पनि नेताहरूले धारणा राख्ने कार्यक्रम नरहेको बताए।
‘उहाँले सबैलाई धन्यवाद दिन बोलाउनु भएको रै’छ। नेताहरू कसैले केही बोल्नुभएन,’ महतोले भने।
राष्ट्रपतिका स्वकीय सचिव अधिकारीका अनुसार नेताहरू झन्डै एक घन्टा शितल निवासमा बसेका थिए।
‘कतिपयले शितल निवासमा रात्रीभोज भनेर पनि लेखेका छन् तर उहाँहरू एक-एक कप चिया पिएर निस्किसक्नुभयो,’ अधिकारीले भने।









































