काठमाडौं । सरकारले प्राविधिक सेवातर्फका दुई सचिवकोृ सरुवा गरेको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव मणिराम गेलाललाई शहरी विकास मन्त्रालयमा सरुवा गरेको छ ।
गेलालको सहरी विकास मन्त्रालयमा सरुवा भएसँगै उक्त मन्त्रालयका सचिव सरजुकुमार वैद्यको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ ।
गेलाल सहसचिव हुँदा मन्त्रालय अन्तरगतको शहरी विकास तथा भवन निर्माण विभागमा लामो समय महानिर्देशक भएर बसेका कारण शहरीबारे जानकार सचिवका रुपमा चिनिन्छन् । गेलाल २०७५ साउन १४ गतेदेखि २०७७ मंसिर २५ गतेसम्म करिव साढे दुई वर्ष विभागको महानिर्देशक बनेका थिए ।
२०७९ जेठ नौ गते गेलाल प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट खानेपानी मन्त्रालयमा सरुवा भएका थिए । त्यहाबाट पनि उनी केही समय लगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका थिए । सहसचिवबाट सचिव भएको तीन वर्षको अवधिमा ६ पटक भन्दा बढी सरुवा भइसकेका छन् । गेलाल लामो समय कुनै पनि निकायमा बसेका छैनन् ।
यसैविच शहरी विकास मन्त्रालयका सचिव डा.सरजुकुमार बैद्यको चार महिनाकै अवधिमा सरुवा भएको छ । चार महिना अघि गत असोजको अन्तिम साता नेपाल ट्रष्टको कार्यालयबाट शहरी विकास मन्त्रालयको सचिवमा सरुवा भएका बैद्य चार महिना नपुग्दै त्यहाँबाट पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका छन् ।
वैद्य मन्त्रालयमा सरुवा भएर आउने बेला पनि गेलालले शहरी विकास मन्त्रालयमा सरुवा हुनका लागि निकै कसरत गरेका थिए । तर, अन्तिम समयमा आएर सरकारले बैद्यलाई नै उक्त मन्त्रालयमा सरुवा गरेको थियो ।
त्यतिबेला मन्त्रालयका सचिव रविन्द्र श्रेष्ठले अनिवार्य अवकाश पाएपछि मन्त्रालयको सचिव पद रिक्त भएको थियो । यस अघि बैद्य सहसचिवबाट सचिवमा बढुवा भइसकेपछि उनको पदस्थापन नेपाल ट्रष्टको कार्यालयमा भएको थियो । त्यहाँ उनी १६ महिना कार्यकारी सचिव भएर काम गरेका थिए ।