27, Apr, 2024

राजकुमार ह्यारीले किन राखे आफ्नो किताबको नाम ‘स्पेयर’?

Bagmati Voice
संवाददाता
२१ पुष २०७९, बिहीबार १४:१६ | १ साल अगाडी

बेलायती राजकुमार ह्यारीको आत्मकथा ‘स्पेयर’ नामक पुस्तक अर्को साता सार्वजनिक हुँदैछ। पेन्गुइन र्‍यान्डम हाउसले प्रकाशन गर्न लागेको स्पेयरमा ह्यारीले आफ्नो जीवनका भोगाइहरू समेटेका छन्।

उनको पुस्तकमा कुनैबेला घाम नअस्ताउने साम्राज्य बनाउन सफल बेलायती राजपरिवारभित्रको वातावरण र ह्यारीले भोगेको जीवनबारे उल्लेख छ।

बेलायती पत्रिका द गार्डियनले सार्वजनिक हुनुअघि नै उक्त पुस्तक प्राप्त गरेको छ। पुस्तकमा ह्यारीले अमेरिकी अभिनेत्री मेघन मार्कलसँग विवाह गरेपछि बेलायती राजपरिवारका सदस्यहरूले गरेको व्यवहारबारे पनि उल्लेख गरेका छन्। विवाह गरिसकेपछि एकपटक विवाद हुँदा दाजु विलियमले आफूमाथि हात हालेको बताएका छन्।

विलियमले आफ्नो कठालोमा समातेर भुइँमा पछारेको र आफूलाई सामान्य चोट लागेको ह्यारीले पुस्तकमा उल्लेख गरेका छन्।

विलियमले मेघनलाई विभिन्न शब्दहरूले गाली गर्ने गरेको पनि ह्यारीले लेखेका छन्। दाजुभाइको उक्त झगडाबारे विलियमले मेघनलाई नभन्नु भनेको र पछि मेघनले आफैं थाहा पाएको उनको किताबमा उल्लेख छ।

मेघन र ह्यारीले सन् २०१८ मेमा विवाह गरेका थिए। अमेरिकी अभिनेत्री मेघन अश्वेत हुन्। ह्यारीसँग विवाह हुनुअघि उनको पारपाचुके भएको थियो। बेलायतजस्तो मुलुकको राजपरिवारमा बुहारीको रूपमा मेघनको आगमनलाई धेरैले प्रगतिशील कदम भनेका थिए।

परम्पगरागत रीतिरिवाज र चालचलनमा चल्ने बेलायती राजपरिवारभित्र ह्यारी र मेघनको जीवन भने सहज रूपमा चल्न सकेन। परिवारका अन्य सदस्यहरूको नराम्रो व्यवहार र हेलाहोचो सहन नसकेपछि ह्यारी र मेघन राजपदवी त्यागेर अमेरिका गए।

अमेरिका गएपछि टेलिभिजन अन्तर्वार्ता, नेटफ्लिक्स सिरिज र पुस्तकमार्फत् बेलायती राजपरिवारमा आफूले भोगेका घटना ह्यारी र मेघनले सार्वजनिक गरिरहेका छन्।

त्यही क्रममा ह्यारीले अतिरिक्त वा विकल्प अर्थ लाग्ने स्पेयर शब्दलाई आफ्नो पुस्तकको नाम बनाएका छन्।

बेलायतका राजपरिवार र सम्भ्रान्त परिवारमा रहेको एउटा पुरानो भनाइ छ- जेठो छोरो राजगद्दी र सम्पत्तिको उत्तराधिकारी हुन्छ, जेठोलाई केही भइहाल्यो भने विकल्पमा अर्को छोरो हुन्छ। यही भनाइलाई आधार मानेर ह्यारीले आफ्नो पुस्तकको नाम स्पेयर राखेका हुन्।

चर्चा के पनि छ भने बेलायती राजा चार्ल्सले ह्यारी जन्मिएपछि आफ्नी पत्नी डायनालाई भनेका थिए रे- तिमीले मलाई उत्तराधिकारी दिएकी थियौ अब त्यसको विकल्प पनि भयो। यत्ति भएपछि मलाई पुग्यो!

ह्यारीले यो प्रसंगलाई पनि आफ्नो पुस्तकमा समावेश गरेका छन्।

डायनाको सन् १९९७ मा पेरिसमा भएको कार दुर्घटनामा निधन भएको थियो।

२१ पुष २०७९, बिहीबार १४:१६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading