एजेन्सी । राष्ट्रिय सुरक्षाको कारण देखाउँदै श्रीलंकाले मुस्लिम महिलाले अनुहार र शरिर छोप्न लगाउने बुर्का र बच्चाहरू पढ्ने १ हजार बढी मदरसा बन्द गर्ने भएको छ।
सार्वजनिक सुरक्षा मन्त्री सारथ वीरासेकाराले बुर्कामा प्रतिबन्ध र मदरसा बन्द गर्ने प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाएको बताए।
‘बुर्काले राष्ट्रिय सुरक्षामा प्रत्यक्ष प्रभाव पार्छ,’ मन्त्री वीरासेकाराले शनिबार एउटा कार्यक्रममा भने,‘पहिला हाम्रा धेरै मुस्लिम साथीहरू थिए तर मुस्लिम महिलाहरूले कहिल्यै बुर्का लगाउँदैनथे। अहिले धार्मिक अतिवादको रूपमा यस्तो चलन आएको हो। हामी यसलाई बन्द गर्छौं नै।’
सन् २०१९ को इस्टरमा श्रीलंकामा भएको आतंकवादी हमलापछि बुर्कामा अस्थायी प्रतिबन्ध लगाइएको थियो।
वीरासेकारा सरकारी निकायमा दर्ता नभएका र राष्ट्रिय शिक्षा नीति अनुसार नचलेकाले १ हजारभन्दा बढी मदरसा पनि बन्द गर्न लागेको बताए।
श्रीलंकामा झन्डै ९ प्रतिशत मानिस मुस्लिम छन् भने जनसंख्या ७० प्रतिशत बुद्ध धर्मालम्वी छन्।









































