14, May, 2024

भूमि मन्त्रालय लुम्बिनीका तत्कालीन सचिव अधिकारीसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बागमती भ्वाइस
बागमती भ्वाइस
१९ कार्तिक २०८०, आईतवार १५:२७ | ६ महिना अगाडी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्ट्राचार गरेको अभियोगमा लुम्बिनी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन प्रदेश सचिव वैकुण्ठ अधिकारीसहित ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अधिकारीले सम्झौता बमोजिम गुणस्तर र ब्राण्डको वितरण गर्नुपर्ने यन्त्र उपकरणभन्दा कम गुणस्तरको र फरक ब्राण्डको मिनिटिलर खरिद र आपूर्तिकर्तालाई भुक्तानी गरी प्रदेश सरकारलाई एक करोड ३१ लाख ६० हजार रुपैयाँ बदनियतपूर्वक हानी पुर्याएको भन्दै सोही रकम बजारको विगो कायम गरेर कैद र जरिवानाको मागसहित अदालतमा मुद्धा दायर गरेको हो ।

उनले सम्झौता बमोजिम खरिद सम्बन्धी सम्पूर्ण कागजात अध्ययन र स्थलगत अनुगमनसमेत नगरी र नगराई भुक्तानी सम्बन्धी टिप्पणी सदर गरेको अन्धानबाट खुलेको आयोगका सहायक प्रवक्ता एवम उपसचिव देवीप्रसाद थपलियाले जानकारी दिए ।

उनका अनुसार उक्त कार्यमा संलग्न तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका महाशाखा प्रमुख श्रीधर ज्ञवाली, कृषि प्रसार अधिकृत मुकेश राम्जाली र आधुनिक कृषि किसान संसार र उक्त संस्थाका प्रबन्ध निर्देशक राजाराम तिवारी विरुद्ध पनि एक करोड ३१ लाख ६० हजार रुपैयाँ विगो दाबीसहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा मुद्धा दायर गरेको छ ।

आधुनिक कृषि किसान संसार प्राली भरतपुर, चितवनले किसानलाई भारतीय कम्पनीको यन्त्र उपकरण उपलब्ध गराउने भन्दै फारम भराई रकम लिएको र अनुदानमा वितरण भएको मिनिटिलर तथा अन्य यन्त्र उपकरण वितरणको क्रममा कृषकलाई स्पेसिफिकेसन र सम्झौता विपरीत कम क्षमता र गुणस्तरको कृषि यान्त्रिक उपकरण वितरण गरेको उजुरी आयोगमा परेपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो ।

१९ कार्तिक २०८०, आईतवार १५:२७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading