काठमाडौं । सरकारले दशैँका बेला सार्वजनिक यातायातमा सर्वसाधारण ठगिने क्रम रोक्न नसकेको सांसदहरुले आरोप लगाएका छन् ।
सोमवार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समिति बैठकमा बोल्दै सांसदहरुले सरकारलाई यस्तो आरोप लगाएका हुन् । सांसदहरुले सरकारले विगतको जस्तो सार्वजनिक यातायातमा टिकट नै नपाउने समस्या हल गरेको भएपनि सर्वसाधरण ठगिने क्रम भने रोक्न नसकेको बताए । उनीहरुले यो वर्षको दशैँमा गाउँघरमा जाने यात्रुहरु सरकारले तोकेको भाडादर भन्दा ४ गुणा बढीले ठगिएको बताए ।
सांसदहरुले सरकारले यातायातका सवारी दुर्घटना हुन नदिएको दाबी गरे पनि पछिल्लो १५ दिनमा ११३४ वटा दुर्घटना र १०० जनाको ज्यान गएको र ७ सय जना घाइते भएको दाबी गरे । समिति बैठकमा बोल्दै नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभाका सांसद प्रदीप पौडेलले यो पटक को दशैँमा सर्वसाधारण यात्रु चार गुणाले ठगिएको दाबी गरे। उनले सरकारले दशैँका बेला सार्वजनिक यातायातमा सर्वसाधारण ठगिने क्रम यो पटक पनि रोक्न नसकेको उल्लेख गरे । उनले दशैंमा सार्वजनिक यातायात सहज र व्यवस्थित भएको भन्ने सरकारको भनाई गलत रहेको बताए। उनले सडकहरुको दुराअवस्था, यातायात व्यवसायीहरुको मनलाग्दी र सरकारको बेवास्ताका कारण यो वर्ष पनि दशैँको सार्वजनिक यातायात सहज र सुलभ हुन नसकेको उल्लेख गरे ।
उनले भने,‘सर्वसाधारण यात्रु सार्वजनिक यातायातबाट भाडामा चार गुणाले ठगिएका छन् । यसको कयौं प्रमाण मसँग छ । सवारी भाडामा प्रायः सबै यात्रुहरु ठगिएका छन् । र पनि सरकार केही भएन भनिरहेको छ । खै १ बद्मास एउटै यातायात व्यवसायीलाई कारबाही गर्नुभयो ? गर्न सक्नुभयो ?।’
नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले दशैँको १५ दिनमा १ हजार १३४ वटा दुर्घटना र १०० जनाको ज्यान जाँदा समेत सरकारले दुर्घटना हुन नदिएको भन्दै दाबी गर्नु जायज नभएको बताए । उनले चाडपर्वको समयमा यातायात व्यवस्था सहज बनाउने र यात्रु ठगि रोक्न समितिले सरकारलाई लिएको निर्देशन पूर्ण रुपमा सरकारले पालना नगरेको बताए । उनले यातायात मन्त्री ज्वालालाई प्रहरीको सूचना थाहा छ ? भन्दै पछिल्लो १५ दिनमा १ हजार १३४ वटा दुर्घटना र १०० जनाको ज्यान जाँदा समेत सरकारलाई जानकारी नहुन दुखद् भएको बताए । उनले पछिल्लो १५ दिनमा १ हजार १३४ वटा दुर्घटना र १०० जनाको ज्यान गएको र ७ सय जना घाइते हुनु सामान्य कुरा नभएको बताए ।
त्यस्तै, समिति बैठकमा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले सार्वजनिक यातायातमा यात्रुहरु ठगि रोक्नको लागि अनलाइन टिकट प्रणाली व्यवस्थित रुपमा लागू गर्न आवश्यक रहेको बताए । उनले सबै सार्वजनिक यातायातका सवारी साधनमा भाडादर सहज रुपमा हेर्न सक्ने प्रणालीको विकास गर्नसके ठगि नियन्त्रण गर्न सकिने बताए ।
समिति बैठकमा बोल्ने अधिकांश सांसदहरुले चाडपर्वमा सरकारले भने जस्तो यातायात व्यवस्था सहज बनाउन नसकेको गुनासो गरे । त्यस्तै बैठकमा सांसदहरुले ठेक्का सम्झौता भएर निमार्ण कार्य अगाडि बढेका र बन्न लागेको सडकहरु तत्काल सम्पन्न हुननसक्नुको मन्त्रीसँग कारण माग समेत गरे।