काठमाडौं । नेपालको चार दिने औपचारिक भ्रमणमा आएका संयुक्त राष्ट्र संघका महासचिव एन्टिनियो गुटेरेसले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरेका छन् ।
भेटका क्रममा सभामुख घिमिरले व्यस्तताबीच नेपाल भ्रमणमा आएकोमा गुटेरेसलाई स्वागत गर्दै नेपाली जनता, नेपालको संसद र व्यक्तिगत रुपमा भ्रमणको सफलताको शुभकामना दिएका थिए ।
नेपालको संसदको नियमावलीमा नै राष्ट्रसंघका महासचिवबाट सम्बोधन हुन सक्ने व्यवस्था गरेको उल्लेख गर्दै गुटेरेसको सम्बोधनलाई नेपाली जनताले पनि चासोका साथ हेरेको घिमिरेले उल्लेख गरेका छन् ।
नेपालले सफलतापूर्वक आफ्नो मौलिक, राष्ट्रिय अपनत्वसहित तथा आफैंले नेतृत्व गरी शान्ति प्रकिया निष्कर्षमा पुर्याएको सभामुख घिमिरेले स्मरण गर्दै नेपालको शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रसंघीय मिसन (अनमिन)को मध्यस्थताले ठूलो सहयोग गरेको बताएका थिए ।
नेपाल संक्रमणकालीन न्याय प्रक्रियालाई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत तार्किक निष्कर्षमा पुर्याउन प्रतिवद्व रहेको उनले जनाए ।
त्यस्तै, दुवै आयोगसम्बन्धी ऐन निर्माणका लागि संसद र संसदीय समितिमा गम्भीरतापूर्वक छलफल भइरहेको जनाउँदै निकट भविष्यमा नै ऐन निर्माण गर्ने सभामुखले महासचिव गुटेरेसलाई जानकारी गराए ।
सभामुख घिमिरेले नेपाल भगवान गौतम बुद्धको देश भएको नेपाली शान्तिप्रिय रहेको जनाउँदै नेपालले शान्ति प्रक्रियामा प्राप्त गरेको उपलब्धी विश्वका लागि नै मोडेल बन्न सक्ने आफूलाई लागेको बताए ।
त्यस्तै, घिमिरेले विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड–१९ अहिलेसम्म भोगेको सबैभन्दा ठूलो मानवीय चुनौतीका रुपमा रहेको उल्लेख गर्दै नेपालले संयुक्त राष्ट्रसंघ र यसका एजेन्सी तथा निकायहरुलाई विशेषतः कोभिड–१९ को अति जोखिमपूर्ण र कठिन समयमा उपलब्ध गराएको सहयोग र सहायताका लागि विशेष आभार प्रकट गरेका थिए ।
त्यसैगरी महासचिव गुटेरेसले नेपाल संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्याउन राष्ट्रसंघ आवश्यक सहयोग गर्न तयार रहेको बताए । संक्रमणकालीन न्यायले पीडित, उनीहरुको परिवार र समुदायमा शान्ति ल्याउन सहयोग गर्छ भन्ने विश्वास व्यक्त पनि व्यक्त गरे ।
आइतबार बिहान नेपाल आइपुगेका गुटेरेसले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए । त्यस्तै, उनले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ ।









































