वि.सं.२०८३ वैशाख २० आइतवार

चिनियाँ पक्षको अवरोधले दैनिक सात कन्टेनर सामग्री मात्र नेपाल भित्रदैं

khanepani

काठमाडौं । तातोपानी भन्सार र रसुवास्थित रसुवागढी भन्सारबाट दैनिक सात कन्टेनर सामग्री नेपाल भित्रिएको सम्बन्धित भन्सार कार्यालयले जनाएका छन् ।

ती नाकाबाट निर्माणका सामग्रीदेखि तयारी पोशाकसम्म भित्रिएका छन् । चिनियाँ ल्होसारका कारण बन्द भएको नाका पुनः सञ्चालनमा आएसँगै दैनिकरूपमा आयात भएको रसुवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले जानकारी दिए ।

उनका अनुसार पछिल्लो समय रसुवागढी नाकाबाट जलविद्युत्का लागि आवश्यक सामग्री आएको छ । केही दिन यता चीनबाट आयात भइरहे पनि साविकमा जस्तो सहजरूपमा आयात भएको छैन ।

नाकामा कार्यरत सबै कर्मचारीलाई कोरोनाविरुद्धको खोप लगाए पनि चिनियाँ पक्षको अवरोधका कारण आयातमा सहज नभएको उनको भनाइ छ ।

हामीले नाकामा कार्यरत २०० भन्दा बढी कर्मचारीलाई गत महिना नै पहिलो चरणको कोरोनाविरुद्धको खोप लगाइसकेका छौँ ।

नाकामा कार्यरत श्रमिकलाई स्वास्थ्य सुरक्षा अपनाउँदै छुट्टै राखेका छौँ । कोरोनाविरुद्धको खोप लगाए पनि चिनियाँ पक्षको अवरोधका कारण आयातमा अझै समस्या हुने गरेको छ’, उनले भने ‘रसुवा जिल्ला नै दुई महिनायता कोरोना सङ्क्रमणमुक्त हुँदासमेत चिनियाँ पक्षको अवरोध कम भएको छैन ।

जति प्रयास गरे पनि चिनियाँ पक्षको विश्वास जित्न नसक्दा आयातमा अवरोध हुने गरेको छ ।

कोरोनाका कारण लामो समयसम्म बन्द रहेको उक्त नाका गत कात्तिकबाट एकतर्फीरूपमा सञ्चालनमा आएको हो ।

तातोपानी नाकाबाट पछिल्लो समय रासायनिक मल आयात भएको भन्सार कार्यालयले जनाएको छ । ल्होसारपछि नाका पुनः सञ्चालनमा आएयता दैनिक सात चिनियाँ कन्टेनर नेपाल भित्रिने गरेको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।

उनका अनुसार सात कन्टेनरमध्ये पाँच कन्टेनरमा रासायनिक मल आयात भएको छ । लामो समयसम्म बन्द रहेको तातोपानी नाका पछिल्लो समय गत कात्तिक १३ गतेबाट पुनः सञ्चालनमा आएको हो ।

चिनियाँ सामग्री आयातमा अवरोध गर्दै आएको चिनियाँ पक्षले निर्यातमा कुनै पहल नगरेको रसुवागढी भन्सार प्रमुख रेग्मी बताउँछन् ।

‘हामीले विभिन्न समयमा निर्यातको पहल गर्दै आएका छौँ तर चिनियाँ पक्षले चासो नदेखाउँदा एक वर्षदेखि निर्यात बन्द भएको छ’, उनले बताए ।

रसुवागढी नाकाबाट एक वर्षदेखि निर्यात बन्द भए पनि भूकम्पपछि तातोपानी नाकाबाट निर्यात ठप्प छ ।

ranechhap