25, Sep, 2023

अबको कार्यसूची सुशासन, समृद्धि र सामाजिक न्याय : कार्यवाहक प्रधानमन्त्री खड्का

बागमती भ्वाइस न्युजडेस्क
३ आश्विन २०८०, बुधबार ०९:५१ | ५ दिन अगाडी

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले संविधानका आधारस्तम्भहरु क्रमशः सबल बन्दै गएसँगै देशमा राजनीतिक स्थायित्व कायम भएको बताएका छन् । अबको कार्यसूची सुशासन, समृद्धि र सामाजिक न्याय भएको पनि उनले बताए ।

काठमाडौंको टुँडिखेलमा आज बिहान आयोजित संविधान दिवस मूल समारोहलाई सम्बोधन गर्दै कार्यवाहक प्रधानमन्त्री खड्काले सो कुरा बताएका हुन् ।

सरकारको अबको कार्यभार पूरा गर्न भौतिक पूर्वाधारका साथै आर्थिक र सामाजिक पूर्वाधार निर्माणमा जोड दिनुपर्ने भन्दै नेपाली जनताको विकासप्रतिको अभिलाषालाई यथाशीघ्र साकार तुल्याउन सबै जुट्नुपर्ने उनले बताए ।

जनतालाई गरिबी, अशिक्षा र पछौटेपनबाट मुक्ति दिलाई समतामुलक समाजको निर्माण गर्नु साझा दायित्व भएको कार्यवाहक प्रधानमन्त्री खड्काको भनाइ छ ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्री, सांसद, कर्मचारी, सुरक्षा अंगका प्रमुखलगायत सहभागी छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड न्यूयोर्कमा र सभामुख देवराज घिमिरे आयरल्याण्डमा रहेकाले संविधान दिवसको मूल समारोहमा सहभागी छैनन् ।

३ आश्विन २०८०, बुधबार ०९:५१ मा प्रकाशित