22, Sep, 2023

तीनकुने हत्याकाण्ड: राति साढे ११ बजे निस्किएका थिए सिसिटिभी फुटेजमा देखिएका पुरूष

बागमती भ्वाइस न्युजडेस्क
३१ भाद्र २०८०, आईतवार १६:१९ | ४ दिन अगाडी

काठमाडौ । काठमाडौ तीनकुनेस्थित मिलमा सामूहिक हत्या भएको घटनामा संलग्न रहेको आशंकामा थप एक जना पक्राउ परेका छन्।

प्रहरीले ती पुरूषलाई पेप्सीकोला क्षेत्रबाट आइतबार पक्राउ गरेको स्रोतले बतायो। अहिले ती पुरूषमाथि सोधपुछ भइरहेको छ। प्रहरीले ती पुरूषको पहिचान पनि खुलाइसकेको छैन। उनले किन हत्या गरे भन्नेबारे पनि प्रहरी निष्कर्षमा पुगिसकेको छैन।

शुक्रबार राति काठमाडौं महानगरपालिका-३२ तीनकुनेस्थित दिव्य स:मिलभित्र काठले बनेको टहरामा चार जनाको हत्या गरिएको अवस्थामा शव फेला परेको हो।

राति ११:५५ बजे प्रहरी वृत्त बानेश्वरमा २८ वर्षीय दीपेन्द्र राई पुगेका थिए। उनी ट्याक्सी चढेर प्रहरी कार्यालयमा पुगेका थिए। उनको शरीरमा रगत लागेको थियो।

घटनाबारे जानकारी गराउन पुगेका उनलाई साथमा लिएर प्रहरी घटनास्थलमा पुग्यो। अनुसन्धानका लागि प्रहरीले उनैलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।

तर प्राविधिक रूपमा अनुसन्धान गर्दा उनको संलग्नतामाथि प्रहरीलाई शंका लाग्यो। प्रहरी कार्यालय पुग्दा पनि उनी नशामै थिए। जसकारण पनि उनले हत्या गरेका हुन् वा होइनन् भन्नेबारे प्रहरीलाई यकिन भइसकेको थिएन।

अनुसन्धानका लागि शनिबार नै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एआइजी दीपक थापाले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरलाई जिम्मा दिएका थिए।

एसएसपी राठौरको संयोजकत्वमा पाँच सदस्यीय अनुसन्धान समिति बनाइएको थियो।

अनुसन्धानको क्रममा प्रहरीले विभिन्न ठाउँका सम्भावित सिसिटिभी फुटेजहरू पनि संकलन गरेको थियो।

मिलबाहिर पनि एउटा सिसिटिभी फुटेज राखिएको छ। त्यस फुटेजबाट हुलिया पहिचान खुल्न सकेको थिएन। अँध्यारोका कारण पनि खुल्न नसकेपछि प्रहरीले अन्य ठाउँका सिसिटिभी फुटेज केलाएको हो।

तीनकुनेदेखि पेप्सीकोलासम्मका फुटेजलाई केलाएर ती पुरूषलाई पक्राउ गरेको प्रहरी स्रोत बताउँछ।

उनी राति ११:३४ मा निस्किएको तर कतिबेला कहाँबाट भित्र पसेको भन्ने नदेखिएको प्रहरी स्रोतले बतायो। उक्त काठ मिलमा दुई वटा ढोका छन्। निस्किँदा भने ती पुरूष मुख्य सडकपट्टीको ढोकाबाट बाहिरिएको देखिएको हो। जसकारण पनि अलमल भएको प्रहरीको भनाइ छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट सुरूमा नवीन राईको हत्या भएको अनुमान छ।

काठ मिलको कम्पाउन्डभित्र भुँइतला र माथिल्लो तलामा बस्न मिल्ने गरी काठको टहरा बनाइएको थियो।

मोरङ बेलबारी घर भई मिलमा बस्दै आएका अन्दाजी २५ वर्षीया नवीन राईको शव माथिल्लो तलाको बरन्डामा विभत्स अवस्थामा भेटिएको हो। उनको टाउकोमा गम्भीर चोट थियो। शरीरका विभिन्न भागमा पनि चोट थियो।

त्यहाँ होहल्ला भएपछि भने भुइँ तलामा एकै परिवारका तीन जनाको हत्या भएको हुनु पर्ने प्रहरीको प्रारम्भिक बुझाइ छ। दीपेन्द्रको काका पर्नेका छोरा नवीन हुन्। दीपेन्द्रका बुवा केही महिनाअघि सम्म उक्त मिलमा काम गर्थे।

दोलखा घर भई सःमिलमा सुरक्षागार्डको काम गर्ने ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती ५० वर्षीया अम्बिका भुजेल र कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेलको भुँइ तलामा हत्या भएको देखिएको हो।

हत्यापछि तीनै जनाको शवलाई घिसारेर काठको थुप्रो भएको ठाउँमा राखिएको घटनास्थलमा पुगेका प्रहरी अधिकारीले बताए।

सुरूमा घटना हुँदा प्रहरीले हतियार फेला पारेको थिएन। मध्यरातमा घटना भएकाले प्रहरीले बिहानमात्रै मुचुल्का उठाएको थियो। मुचुल्का गरे पनि हतियार फेला नपरेपछि प्रहरीले खोजी गरिरहेको थियो।

घटनास्थलमा खोजी गर्ने क्रममा त्यही मिलभित्र एउटा दाउ फेला परेको हो। जसलाई धोएको जस्तो पनि देखिएको र केही रगतका टाटासमेत देखिएको स्रोतले बतायो।

तीनकुनेको उक्त सःमिल दोलखाको कालिञञ्चोक गाउँपालिका-८ घर भई गौशाला बस्ने बालकृष्ण शिवाकोटीको हो। उनी दोलखाका एमाले नेता समेत हुन्।

हत्या गरिएको अवस्थामा भेटिएका चारै जनाको शव पोष्टमर्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ।

३१ भाद्र २०८०, आईतवार १६:१९ मा प्रकाशित