
काठमाडौं । काण्ड र महाकाण्डमा उच्च तहका नेताहरूलाई उन्मुक्ति दिएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मानव अधिकारवादीहरुले पत्र पढाएका छन् ।
मानवअधिकारवादी एवं नागरिक अगुवा नीलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय, सूर्यप्रसाद श्रेष्ठ, सुशील प्याकुरेल र कनकमणि दीक्षितले प्रधानमन्त्री प्रचण्डलाई पत्र पठाएका हुन्।
उनीहरूले संयुक्त रूपमा प्रधानमन्त्रीलाई पठाएको पत्रमा भनिएको छ, ‘शरणार्थी काण्ड, ललिता निवास काण्ड र सुन तस्करी काण्डजस्ता देशलाई नै कलंकित पार्ने उच्च तह संलग्न प्रकरणहरूको अनुसन्धान र दोषीमाथि कारबाहीको प्रक्रिया शुरु हुँदा केही आशा पलाएको थियो । तर यता सार्वजनिक रूपमा तथ्य प्रमाणसहित उल्लेखित भ्रष्टाचारमा उच्च राजनीतिक तहको हात रहेका तथ्यहरू प्रकाशमा आएकोमा अनुसन्धान र कारबाहीले गलत मोड लिएको देख्दा हामी अत्यन्त चिन्तित छौँ।’
कानून नमान्ने, कानूनभन्दा माथि रहने वर्ग निर्माण भइरहेको स्थितिमा त्यसलाई रोक्ने केही काम हुन्छ कि भन्ने आशाको धिपधिपे दियो निभ्ला कि भन्ने लागेपछि बाध्य भएर पत्र लेखेको उल्लेख गरेका छन् ।
‘यो निश्चित छ, यस्ता विशाल काण्ड, प्रभावशाली पदाधिकारी र पहुँच भएका व्यक्तिहरूको स्वीकृति विना सम्भव हुँदैन। अपराधिकतालाई नै प्रश्रय दिने नेतृत्व भयो भने मुलुक बलियो बन्दैन, विकास हुँदैन, न्याय हुँदैन र राष्ट्रिय स्वाधीनता पनि सुदृढ बन्दैन’ पत्रमा भनिएको छ, ‘अहिले आएर कानुन पनि अपराधिकतालाई उन्मुक्ति दिने बन्न थाल्दा हामी सशंकित र खिन्न भएका छौँ । फौजदारी संहितामा राजनीतिमा लाग्दा गरेको अपराधमा उन्मुक्तिको प्रस्तावले हाम्रो समाजलाई दण्डहीनताको केन्द्र बनाउने छ। ‘टीकापुर माफी काण्ड’ यस्तै राजनीतिको उपज हो ।’