29, Apr, 2024

ताप्लेजुङ प्रकरणमा योगेशको प्रतिक्रिया, जनप्रतिनिधिले आफैँ कानून हातमा लिएर सडकमा ताण्डव मच्चाउनु अशोभनीय

Bagmati Voice
संवाददाता
२५ भाद्र २०८०, सोमबार १०:४० | ७ महिना अगाडी

काठमाडौं । नेकपा एमालेका सचिव तथा ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले जनप्रतिनिधिले आफैँ कानून हातमा लिएर सडकमा ताण्डव मच्चाउनु अशोभनीय रहेको टिप्पणी गरेका छन् ।

ताप्लेजुङकै प्रदेशसभा २ बाट निर्वाचित कांग्रेस सांसद खगेनसिंह हाङगामले गत शुक्रवार सार्वजनिक कार्यक्रमबाटै डिएसपी राजन लिम्बु र उनको परिवारका सदस्यहरूको हत्या गर्ने धम्की दिएकोमा भट्टराईले आपत्ति जनाएका हुन् ।

भट्टराईले आफ्नो गृह जिल्लामा भइरहेका घटनाप्रति पहिलो पटक प्रतिक्रिया व्यक्त गर्दै लोकतान्त्रिक व्यवस्थामा कानूनको नजरमा सबै समान हुने बताएका छन् ।

भट्टराईले आफ्नो वक्तव्यमा भनेका छन्- लोकतन्त्र र विधिको शासनमा विश्वास गर्ने जो कोहीले पनि त्यसको पालना गरेर र आचरणबाट आफूलाई प्रमाणित गर्नु पर्दछ । त्यसमा पनि जनप्रतिनिधिहरूले कानुन कार्यान्वयन गर्ने अधिकारीले निष्पक्ष र पारदर्शी रूपमा काम गरे नगरेको मूल्याङ्कन गर्ने र उपयुक्त तरिका र ठाउँबाट निर्देशन दिने हो । आफैँ कानुन हातमा लिएर सडकमा ताण्डव मच्चाउनु सुहाउने कुरा होइन ।

गत बिहीबार सदरमुकाममा प्रहरी र सांसद खगेन समर्थकबीच भएको विवादपछि शुक्रवार उनले कांग्रेसको नेतृत्वमा सरकार बनेपछि ताप्लेजुङका डिएसपी लिम्बुको बर्दी उतार्ने धम्की दिएका थिए ।

त्यति मात्र होइन सांसदले डिएसपीको परिवार कहाँ बस्छन् खोजेर बाबु आमा र छोराछोरीलाई मारिदिने धम्की समेत दिएका थिए ।

यसप्रति कांग्रेसले उनलाई स्पष्टीकरण सोध्नुको साटो उल्टै डिएसपीलाई निलम्बनको माग गरेको छ ।

२५ भाद्र २०८०, सोमबार १०:४० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading