29, Apr, 2024

१३ वर्षीया छात्रा मृत भेटिएपछि विद्यालयका प्रिन्सिपल र सञ्चालक पक्राउ

Bagmati Voice
संवाददाता
२५ भाद्र २०८०, सोमबार ०९:५३ | ७ महिना अगाडी

काठमाडौ । काठमाडौ आत्महत्या दुरूत्साहन मुद्दा परेपछि रूकुम पश्चिमका एक बोर्डिङ स्कूलका प्रिन्सिपल र सञ्चालक पक्राउ परेका छन्।

जिल्लाको चौजहारी नगरपालिका– १ को भ्याली पब्लिक स्कुलकी प्रिन्सिपल पुष्पा भाट र सञ्चालक युडेन भण्डारीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।

स्कुलमा कक्षा ८ मा अध्ययनरत १३ वर्षीया सृष्टि गौतमले शुक्रबार घर पुगी विद्यालय पोशाकमै झुन्डिएर आत्महत्या गरेकी थिइन्।

घटनापछि छात्राका अभिभावकले प्रहरीमा गई बोर्डिङ स्कुलका प्रिन्सिपल भाट र सञ्चालक भण्डारीविरूद्ध आत्महत्या दुरूत्साहनको जाहरी दिएका थिए।

सोही जाहेरीका आधारमा बोर्डिङ स्कुलकी सञ्चालक र प्रिन्सिपललाई पक्राउ गर्नु परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले बताए ।

घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको खड्काले जानकारी दिए ।

पीडित पक्षकाअनुसार शुक्रबार छात्रा गौतमलाई प्रिन्सिपल भाटले विद्यार्थीहरूका अगाडि र कक्षा कोठामा समेत सञ्चालक भण्डारीको उपस्थितमा कुटपिट गरेकी थिइन्। प्रिन्सिपलकी भतिजीसँगै मृतक गौतम जाजरकोट घुम्न गएको विषयलाई उठाउँदै प्रिन्सिपल भाटले छात्रा गौतममाथि कुटपिट गरेको पीडित पक्षको आरोप छ

भतिजीलाई घुमाउन लगेर बिगार्न खोजेको आरोप लगाउँदै प्रिन्सिपलले कक्षा कोठा र त्यसपूर्व विद्यालय प्राङ्गणमा पनि कुटपिट गरेपछि छात्रा गौतमले त्यो सहन नसकेर आत्महत्या गरेको परिवारको भनाइ छ।

विद्यालयमा छात्रामाथि कुटपिट भएको हो कि होइन? यदि हो भने के कारणले कुटपिट भएको हो? त्यसबारे अनुसन्धान हुन बाँकी रहेको प्रहरी अधिकारीहरु बताउँछन् ।

प्रहरीले सुरूमा दर्ता गर्न नमानेको पीडित पक्षको आरोप छ। उनीहरूले राजनीतिक दबाबका कारण सुरूमा प्रहरीले उजुरी दर्ता गर्न उदासिनता देखाएको उनीहरूले बताए।

प्रहरीले भने यो कुरा अस्वीकार गर्‍यो।

‘प्रहरीलाई कतैबाट दबाब आएको छैन र प्रहरी कानुनअनुसार काम गर्छ। कसैको दबाबमा काम गर्दैन,’ एक प्रहरी अधिकारीले भने ‘अनुसन्धानपछि दोषी देखिने जो कोही सजायको भागिदार बन्छ ।’

२५ भाद्र २०८०, सोमबार ०९:५३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading