काठमाडौं । आदिवासी जनजातिहरुको छाता संस्था नेपाल आदिवासी जनजाति महासंघका अध्यक्षसमेतले हस्ताक्षर गरेको लोकतन्त्रविरोधी अतिवादी वक्तव्यका कारण आदिवासीहरुमै विभाजन आएको छ ।
महासंघ सबै राजनीतिक दलमा आबद्ध आदिवासी जनजातिहरुको छाता संगठन हो र यसलाई राज्यले समेत मान्यता दिएको छ । तर, सोही संस्थाका अध्यक्ष ग्याल्जे शेर्पाले एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाले निकट युवा संघका अध्यक्ष क्षितिज थेबे धरान गएमा जे पनि हुन सक्ने चेतावनीयुक्त वक्तव्य दिएपछि खैलाबैला मच्चिएको छ ।
महासंघसहित यसका घटक संस्था किराँत याक्थुम चुम्लुङ, किराँत राई यायोक्खा, शेर्पा संघ र पहिचानसहितको प्रदेश १ नामांकन अभियान समितिको तर्फबाट भदौ १८ गते जारी विज्ञप्तिमा एमाले अध्यक्ष ओली र युवा संघ अध्यक्ष थेबेले माफी नमागेमा जे पनि हुनसक्ने चेतावनी दिइएको छ ।
९ बुँदे वक्तव्यको छैटौं बुँदामा आन्दोलनरत पक्षलाई चिढ्याउने शब्दहरु प्रयोग गर्ने केपी ओली र उनको निर्देशनमा आउने क्षितिज थेबेले माफी नमागी हिँडेमा उत्पन्न हुनसक्ने परिणामको जिम्मेवार स्वयम् हुनेछ भनिएको छ ।
थेबे अहिले चीन भ्रमणमा छन् । उनी युवा संघको भदौ २३ र २४ मा धरानमा हुने प्रथम अधिवेशनमा आएमा प्रतिरोध गर्ने चेतावनीसमेत विज्ञप्तिमा दिइएको छ । विज्ञप्तिमा एमालेबाहेक अन्य दलको भने विरोध गरिएको छैन ।
युवा संघको अधिवेशन चुम्लुङको हलमा गर्ने भनिए पनि पहिचानवादीको धम्कीपछि सो स्थानमा गर्न नदिइने भएको छ । युवा संघका धरान इन्चार्ज दिवस राईले अर्को स्थानमा गरिने बताएका छन् ।
यता आदिवासी जनजाति महासंघलगायत साझा जातीय संस्थाहरुको नेतृत्वमा रहेका व्यक्ति सत्ता गठबन्धन दलमा आबद्ध भएकै कारण एमालेमाथि आक्रमण गरिएको भन्दै एमाले निकट आदिवासी जनजाति महासंघले अब प्रतिवाद गर्ने चेतावनी दिएको छ ।
नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष शेर्पा नेपाली कांग्रेसका रामेछापका महाधिवेशन प्रतिनिधि हुन् । तर, महासंघमा आएपछि साझा संस्थाको मर्यादा राख्नुपर्ने एमाले निकट आदिवासी जनजातिहरुको भनाइ छ ।
पहिचानवादीहरुको तर्फबाट जारी विज्ञप्तिमा भने एमाले नेताको नामै लिएर प्रतिकार गर्ने र जे पनि हुनसक्ने चेतावनी दिइएको छ ।
यस्तो छ पहिचानवादीहरुको चेतावनीयुक्त वक्तव्य
सत्ता संरक्षित भिजिलान्तेको प्रतिवाद एमालेका आदिवासीले गर्छन्ः शेर्पा
नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष समेत रहेका नेकपा एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघका अध्यक्ष पासाङ शेर्पाले पहिचानको नाममा एमालेविरुद्ध आन्दोलन गर्नेहरु सत्ता संरक्षित भिजिलान्तेहरु भएको बताएका छन् ।
कुरा गर्दै शेर्पाले आदिवासी जनजाति महासंघ र अन्य जातीय घटकहरु जस्ता साझा संस्थाले पहिचानको आन्दोलनलाई दुरुपयोग गर्ने र त्यस्ता संस्थालाई एमालेलाई गाली गर्ने प्लेटफर्म बनाएको आरोप लगाए । उनले एमालेका नेताहरुमाथि जे पनि हुनसक्ने धम्की दिनेहरुको भोलि मैदानमा आदिवासी जनजातिले नै प्रतिवाद गरेमा त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनीसमेत दिए ।
यस्तो छ शेर्पाको भनाइ
हामीले भन्दै आएका छौं, साझा संस्थाले साझा भूमिका खेल्नुपर्छ । मेरो पालामा नेपालमै सबैभन्दा ठूलो आदिवासी जनजाति आन्दोलन भयो । हामीले त्यसबेला आदिवासी जनजाति आन्दोलनलाई सबै समुदायको समर्थन लिएर सामाजिक न्यायको आन्दोलनका रुपमा स्थापित गरेका थियौं । तर, अहिले आदिवासी जनजाति महासंघले नै यो आन्दोलनलाई साम्प्रदायिक र सत्ता संरक्षित भिजिलान्तेकरण गरेको छ ।
पहिचानको आन्दोलनलाई दुरुपयोग गर्ने, एमालेविरुद्ध गाली गर्ने प्लेटफर्मका रुपमा यस्ता संस्थाहरु प्रयोग भएका छन् । यिनीहरुकै कारण पहिचानको आन्दोलन ओरालो लागेको छ । अहिले पहिचानको आन्दोलनका नाममा केही व्यक्तिको कुण्ठा पोख्ने काम भएको छ । आदिवासी जनजाति एकता पनि अहिले छिन्नभिन्न भएको छ । यिनीहरुको गतिविधिले गर्दा सहअस्तित्वको आन्दोलनलाई निषेधको आन्दोलन बनाइएको छ ।
हामी एमाले सम्बद्ध आदिवासी जनजातिहरु अहिलेसम्म संयमित भएर बसेका छौं । तर, उनीहरुले यस्ता खालका हर्कत गरिरहे आफ्नो नेताको सुरक्षाका लागि आदिवासी जनजाति परिचालन हुनेछन् । त्यो अवस्थामा आउने परिणामको जिम्मेवारी सरकारले लिनुपर्नेछ । किनभने खुलेआम पहिचानवादीका नाममा ज्यानमाथि आघात पार्ने खालका विज्ञप्ति आउँदा पनि सरकारले त्यस्ता व्यक्तिलाई किन नियन्त्रणमा लिँदैन ? के सरकारले मुठभेड चाहेको हो ? यसबारेमा प्रस्ट पारोस् ।







































