
चितवन । घरेलु कामदारको रूपमा चितवनकी एक युवतीलाई कुवेत पठाएका दीपक पाण्डेले अभियन्ता देविका कुँवरलाई धम्की दिएका छन् ।
कुँवरसँग सोविना परियारले सम्पर्क गरी आफूलाई साहुनी र छोरीले निरन्तर कुटपिट गरेको भन्दै उद्धारको याचना गरेकी थिइन् । आफूले कुवेत पठाउने पाण्डेसँग सम्पर्क गरी परियारको पासपोर्ट नम्बर, फोन तथा सम्पर्क माग्दा धम्की दिएको कुँवरले बताइन् ।
आफूलाई नीलकमल म्यानपावर कम्पनीको सञ्चालक राजु पाण्डे नाम बताउँदै उक्त व्यक्तिले भारतीय नम्बर प्रयोग गरिएको ह्वाट्सएपबाट फोन र म्यासेज गरी कुँवरलाई धम्क्याएका हुन् । उनले ९१९५४०१८६२८३ भारतीय नम्बर प्रयोग गरेको ह्वाट्सएपबाट फोन गरी ‘तपाईँको ठेगाना पत्ता लगाएर मान्छे पठाउन सक्छु, चितवन प्रहरीले पनि समात्छ’ भन्दै धम्की दिएको बताएकी छिन् ।
उक्त व्यक्तिले अश्लील शब्दसमेत प्रयोग गरी धम्क्याएकोले आफ्नो सुरक्षाको माग गर्दै अभियन्ता कुँवरले जिल्ला प्रशासन कार्यालय चितवनमा निवेदन दिएकी छिन् । उनले उक्त व्यक्तिले धम्की दिएको अडियो रेकर्डसमेत सुरक्षित भएको बताएकी थिइन् ।
‘कुवेतमा सोही व्यक्तिले पठाएकी सोविनाले आफूलाई दुई वर्षको लागि किनेको भन्दै घरेलु हिंसामा परेको भन्दै सहयोगको याचना गरेकी थिइन्, अभियन्ता कुँवरले भनिन्, ‘मैले ती बहिनीको कागजात नभएको कारण उनको कागजात मागेर उनलाई नेपाल झिकाउने पहल गर्न भनेको भन्दा मलाई अश्लील गाली गर्दै ज्यानको धम्की दिएपछि सुरक्षा मागेकी हुँ ।’
सोविनाले कुवेतबाट सहयोगको लागि याचना गरेको समाचार यसअघि प्रकाशित भएको थियो ।