22, Sep, 2023

नेतृत्व छाड्न सुदेशले बोलाए बैठक, को बन्दैछ नेकपा एसनिकट अनेरास्ववियूको संयोजक ?

बागमती भ्वाइस न्युजडेस्क
४ भाद्र २०८०, सोमबार १३:०८ | १ महिना अगाडी

काठमाडौं । नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षबाट सुदेश पराजुलीले यसै साता बिदा लिने भएका छन् ।

नेकपा एमाले विभाजनपहिले नै समानान्तर समितिको अध्यक्ष बनेका पराजुलीले अब महाधिवेशन आयोजक कमिटी बनाएर बिदा लिन लागेको बताए ।

महाधिवेशन आयोजक कमिटी गठनको लागि भदौ ८ र ९ गते स्थायी कमिटी बैठक काठमाडोंमा बोलाइएको उनले बताए । पराजुलीले सोमबार वक्तव्य जारी गर्दै संग्ठनको आन्तरिक जीवन व्यवस्थित र गतिशील बनाउन महत्वपूर्ण भएकाले बैठकमा उपस्थित हुन सबै सदस्यलाई निर्देशन दिएका छन् ।

पराजुलीले संगठनको नेतृत्वबाट विदा लिएपछि महाधिवेशन आयोजक कमिटी संयोजक बन्न उपाध्यक्ष माधव पन्त र महासचिव आरती लामाले चाहना व्यक्त गरेका छन् । दुवैको नाममा छलफल भइरहेको र पार्टी नेतृत्वको चाहनामै एकजनाले जिम्मा पाउने बताइएको छ ।

संयोजकका दाबेदारमध्ये पन्त मोफसलबाट राजनीति गरेका युवा हुन् भने महासचिव आरती लामा संघर्षको मैदानबाट उदाएकी युवा महिला हुन् । केही नेताले स्थायी कमिटीमा मतदान गरेर संयोजक चयनको उपाय सुझाए पनि नेतृत्वको चाहनामै हुनेछ ।

३३ औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठनसँगै पराजुलीलगायत केही नेता बिदा हुने बताइएको छ । पराजुलीलाई नेकपा एसको केन्द्रीय सदस्य मनोनित गरिने नेताहरुले बताएका छन् ।

४ भाद्र २०८०, सोमबार १३:०८ मा प्रकाशित