काठमाडौं । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले नयाँ निजामती ऐन सेवाग्रही र कर्मचारीको हितमा रहने स्पष्ट पारेका छन् ।
नेपाल निजामती कर्मचारी युनियनको काठमाडौंमा भएको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले सरकारले ल्याउन लागेको निजामती ऐनले कर्मचारीको हितमा बन्ने बताए ।
रक्षामन्त्री समेत रहेका खड्काले भने, ‘निजामती कर्मचारीको हक, अधिकार र हितको रक्षा नयाँ निजामती ऐनले गरेको छ । साथै नयाँ ऐनले आम नेपाली जनताले सबै सेवाहरु झण्झटरहित रुपमा सम्मानपूर्वक पाउने कुराको सुनिश्चित गर्ने छ ।’
उनले सरकारले यतिबेला निजामती कर्मचारीलाई चाहेर पनि थप सेवा तथा सुविधा उपलब्ध गराउन नसक्ने पनि स्पष्ट पारे ।
उपप्रधानमन्त्री खड्काले भने, ‘यतिबेला देशको अर्थतन्त्रको अवस्थाबारे तपाईं जानकार नै हुनुहुन्छ, अर्थतन्त्रमा धेरै भार नपर्ने र निजामती कर्मचारीको हित हुने कैयन विषय ऐनमा समेटिएका पनि छन् । तर अर्थतन्त्रमा भार पर्ने विषय पछि बिस्तारै सम्बोधन गर्नुपर्ने अवस्था छ ।’
उनले कर्मचारीलाई सम्बोधन गर्दै अहिले त्याग गर्ने बेला भएको भन्दै अर्थतन्त्र सुधार भएसँगै सबै समस्या सम्बोधन हुने समेत बताए ।
उपप्रधानमन्त्री खड्काले अहिलेको सरकार र सत्तारुढ गठवन्धन निजामती कर्मचारीहरु हक अधिकारको रक्षाका लागि पूर्णरुपमा प्रतिवद्ध रहेको समेत प्रष्ट पारे । उनले संविधानमा सुनिश्चित भएको सेवा जनताले पाउनुपर्ने र त्यसमा कर्मचारीले विशेष ध्यानदिनुपर्ने धारणा राखे ।
उनले नागरिकलाई सार्वजनिक सेवा प्रवाह प्रभावकारी बनाउने विषयमा ध्यान दिन कर्मचारीलाई आग्रह समेत गरे । सरकारले अहिले सरोकारावला सबै निकायसँग छलफल गरेर ऐन निर्माण गरेका कारण निजामती ऐनले सबैको हित हुनेमा उनले विश्वास व्यक्त गरे ।





































