झापा । झापामा ७५ हजार रुपैयाँ बराबरको नक्कली भारतीय रुपैयाँ बरामद भएको छ । पाँच सय भारुका नोटसहित दुई जना व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ परेका मध्ये एक जना कनकाई नगरपालिका–३, सुरुङ्गाका सुन व्यवसायी मौसम श्रेष्ठ हुन् । अर्का व्यक्तिको परिचय भने प्रहरीले खुलाइसकेको छैन ।
झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाका अनुसार पक्राउ परेका दुवै जनालाई खोटाचलन सम्बन्धी कसूरमा म्याद थप गरेर विस्तृत अनुसन्धान गर्ने तयारी भइरहेको छ । उनले भने, ‘म्याद थप गर्न लगेका छौं, त्यसपछि विस्तृतमा अनुसन्धान सुरु हुन्छ ।’
बरामद नोटमध्ये तीन वटा नोटसम्ममा एउटै नम्बर भेटिएको छ । पक्राउ परेका अर्का व्यक्तिले बयानमा डेढ लाख रुपैयाँ नक्कली नोट रहेको खुलाएका छन् । बरामद भए बाहेकको रकम खर्च भइसकेको हुनसक्ने एक अनुसन्धान अधिकृतले बताए ।
श्रेष्ठहरुले ल्याएको नोट कहाँबाट आएको भन्ने खुलिसकेको छैन ।
प्रहरीले बताएअनुसार श्रेष्ठ सुरुङ्गा क्षेत्रका मिटर ब्याजमा पैुसा लगाउने नामी व्यापारीको नाममा चिनिन्छन
। यस विषयमा पनि प्रहरीले अनुसन्धान गरिररहेको स्रोतको भनाइ छ ।
यसअघि १० जेठ २०७६ मा काठमाडौंमा ७ करोड रुपैयाँ नक्कली भारतीय नोटसहित युनिस अन्सारी पक्राउ परेका थिए । त्यसयता ठूलो परिमाणमा नेपालमा भारतीय नक्कली नोट समातिएको छैन ।